• १५ मंसिर २०८१, शनिबार

बाँझो जमिनमा खेती लगाउन पहल

blog

गणेश खनाल

अर्घाखाँची, भदौ १४ गते । ग्रामीण भेगबाट बजार झर्नेको सङ्ख्या वृद्धि भएसँगै गाउँपाखामा रहेका उर्वर भूमि बाँझो हुने क्रम बढिरहेको छ । पुराना कलाले भरिएका ढुङ्गाको छानो भएका परम्परागत शैलीका घर जीर्ण अवस्थामा पुगेका छन् ।

गाउँमा बसेका गाउँले पनि किसानीप्रति त्यति लगाव भएका पाइँदैन । दुःखसुख गरेर उत्पादन गरेको अन्नबाली बाँदर र बँदेलले खाँदा किसानमा झन् निराशा पैदा भएको छ । 

खेतीयोग्य जमिन बर्सेनि बाँझो जमिनमा परिणत हुन थालेपछि पालिकालाई आत्मनिर्भर बनाउने सोचसहित भूमिकास्थान नगरपालिकाले बाँझो जमिनको खोजी गरेको छ । नगरभित्रका खेतीयोग्य बाँझो जमिनमा नगरले नै कागती खेती, आलु खेती, कफी खेती, सुन्तला खेतीलगायतका आयआर्जन दिने बिरुवाका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ ।

कार्यविधि बनाई आयआर्जनको बाटोमा बाँझो जमिनलाई उपयोग गर्ने गरी कृषि उत्पादनमा लागिसकेको नगर प्रमुख झविलाल थापाले जानकारी दिनुभयो । “हामीले नगरलाई आत्मनिर्भर बनाउने बाटोमा लैजाँदै छौँ,” उहाँले भन्नुभयो, “कार्यविधि बनाएर प्रक्रिया अघि बढाएका छौँ, केही समयमा नतिजा दिन्छौँ ।” 

कतिपय स्थानीय तहले जमिन बाँझो राख्नेलाई जरिबाना तिराउने, कतिपयले बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने नीति लिएका छन् । भूमिकास्थानले भने आफैँ कृषि खेती गर्ने गरी काम अगाडि बढाएको छ । 

तत्कालै ठुला कलकारखाना खुल्ने अवस्था नरहेपछि, कृषि उत्पादनलाई निरन्तरता दिनुपर्ने र रोजगार प्रभावित भएको अवस्थामा कृषि क्षेत्र नै रोजगारीको सहारा बन्ने देखेपछि कार्यक्रम सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण पोख्रेलले बताउनुभयो । 

अहिले नगर बाँझो जमिनको पहिचान अन्तिम चरणमा पुगेको र जग्गा प्राप्तिको चरणमा रहेको जनाइएको छ । एक सूचना जारी गर्दै नगरपालिकाले निःशुल्क तथा न्यूनतम शुल्कमा जमिन उपलब्ध गराउन इच्छुक व्यक्तिको विवरण सङ्कलन गरिरहेको छ । 

निःशुल्क दिन चाहनेले कम्तीमा तीन वर्ष जग्गा उपलब्ध गराएको स्वघोषणा गर्नुपर्ने छ । यस्तै शुल्क लिएर जग्गा दिन चाहनेले प्रतिरोपनी वार्षिक एक हजार रुपियाँ पाउने गरी सम्झौता गर्नुपर्ने छ । कर्मशील जनशक्तिलाई कृषि मात्र नभएर विकास निर्माणका काममा समेत जोड्ने योजना रहेको योजना अधिकृत हरिशचन्द्र भुसालले जानकारी दिनुभयो । 

विभिन्न उपभोक्ता समितिमार्फत हुने कार्यमा जोड्ने, विभिन्न उद्यमशीलताका कार्यक्रममा जोड्ने, महिलालाई महिला श्रममा जोडेर यसलाई एकीकृत कार्यक्रमका रूपमा जोड्ने गरी कार्यक्रम ल्याइएको उपप्रमुख बालकृष्ण बजान्डेले जानाकारी दिनुभयो ।

आर्थिक वर्ष २०८०/८१ मा यस कार्यक्रमका लागि नगरपालिकाले ५० लाख रुपियाँ विनियोजन गरेको छ । अन्य कार्यक्रम पनि यो कार्यक्रमसँग जोडिएकाले झन्डै दुई करोड पुग्ने कार्यालयको भनाइ छ । चालु आवमा पाँच करोडसम्मको काम गर्ने लक्ष्य नगरले लिएको छ ।

नगरपालिकाको कुल क्षेत्रफल १५९.१३ वर्ग किलोमिटर रहेको छ । जसमध्ये आव २०७७÷७८ को तथ्याङ्क अनुसार चार हजार ५६४ हेक्टर जमिन खेतीयोग्य छ ।