• ११ पुस २०८१, बिहिबार

समितिको कामलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सभामुखको निर्देशन

blog

बैठकपछि सञ्चारकर्मीसँग बैठकबारे जानकारी दिनुहुँदै सभामुख देवराज घिमिरे । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ १३ गते । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुका कामलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिनुभएको छ ।

बुधबार सभामुख, उपसभामुखसहित १० वटै संसदीय समितिको सभापतिसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन निर्देशन दिनुभएको हो ।

उहाँले समितिमा आउने विधेयकहरुलाई आवश्यकता अनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुङ्ग्याउन पनि निर्देशन दिनुभयो । उहाँले समितिहरुले गतिका साथ काम गर्नुपर्ने पनि बताउनुभयो ।

‘‘निर्णयहरु अब समितिले गतिका साथ काम गर्ने । सभाले दिएका दायित्वहरु अब समितिमार्फत पूरा गर्ने । र समितिहरुलाई प्रभावकारी ढङ्गबाट काममा अगाडि बढाएर सभालाई प्रभावकारी बनाउने कुराहरु भयो । खासगरी आएका विधेयकहरु समितिमा गएका छन् । अब आउने विधेयकहरु पनि समितिमै जान्छन् ।,’’ बैठकपछि सञ्चारकर्मीसँग बैठकबारे जानकारी दिनुहुँदै सभामुख घिमिरेले भन्नुभयो, ‘‘समितिमा सरोकारवालाहरुसँग आवश्यकता अनुसार बस्ने उहाँहरुको कुराहरु सुन्ने । सबै आ–आफ्नो समितिमा माननीयज्यूहरुले घनीभूत ढङ्गबाट दफावार छलफल गर्ने, छिटो टुङ्ग्याउने र सभामा ल्याउने कामका लागि विशेष अगाडि बढ्नुस् भन्ने कुराहरु सभामुखको तर्फबाट भन्ने काम भयो । उहाँहरुले त्यसलाई एकदम ठिक भयो । यो दायित्व पूरा गर्छौं भनेर उत्साहसाथ लिनुभयो ।’’

अर्थ समितिका सभापति सन्तोष चालिसेले बैठकमा समितिहरुले देशको अवस्थालाई मध्यनजर गर्दै चाँडोभन्दा चाँडो सही ढङ्गले काम गर्नुपर्ने विषयमा छलफल भएको बताउनुभयो । उहाँले समितिले गरेका निर्णयहरुलाई कार्यान्वयन पनि गराउनुपर्नेमा बैठकले जोड दिएको जानकारी दिनुभयो ।

‘‘आर्थिक हिसाबले अहिले पनि हामी कमजोर अवस्थामा छौँ । बजार चलायमान नभएको अवस्थामा छौँ । व्यापार घाटाको अवस्थामा छौँ । निर्यात कमजोरी छ । आयात वृद्धि भइरहेको अवस्था छ । रेमिट्यान्स्ले मात्रै मुलुक धानिनुपर्ने अवस्था छ ।,’’ अर्थ समितिका सभापति चालिसेले भन्नुभयो, ‘‘यसबाट पार पाउनका लागि हामीले लिनुपर्ने निर्णयहरु र १० वटै समितिले खेल्नुपर्ने आ–आफ्ना भूमिकाहरु हामीले एकदमै  आफूलाई देशका लागि साक्षी राखेर काम गर्नुपर्ने अवस्था भएको हुनाले चाँडाेभन्दा चाँडै सही ढङ्गले काम थाल्नुपर्‍यो । सही ढङ्गले निर्णय गर्नुपर्यो । निर्णय गर्ने मात्रै होइन निर्णयलाई लागू पनि गर्नुपर्‍यो भन्ने विषयमा आज निर्देशनहरु भए । छलफलहरु भए ।’’

यसैगरी, बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले बैठकमा समितिले हाल गरिरहेका कामहरु र विधेयकसँग सम्बन्धित कामहरुको कार्यप्रगतिको सम्बन्धमा छलफल भएको बताउनुभयो । उहाँले पनि समितिको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने विषय नै सभामुखले राख्नुभएको जानकारी गराउनुभयो ।

उहाँले समितिको कामको प्रभावकारिताले नै संसदको प्रभावकारिता बढ्ने भएकाले सोही अनुरुप गम्भीरतापूर्वक समितिका काम, कारबाही अगाडि बढाउन सभामुखले निर्देशन दिनुभएको उल्लेख गर्नुभयो ।