• २५ वैशाख २०८१, मङ्गलबार

भेटेनरी अस्पतालका उपकरण प्रयोगविहीन

blog

भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र दोलखाको कार्यालय । तस्विर : सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, भदौ १३ गते । दोलखा सदरमुकाम चरिकोटमा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका उपकरण प्रयोगविहीन बनेका छन् । अस्पतालमा भवनसहित भौतिक पूर्वाधारको अभावले उपकरणहरु प्रयोगविहीन बनेका हुन् ।

पशु जाँचका लागि ल्याइएका ल्याब र भिडियो एक्सरे मेसिन भवन अभावले  प्रयोगविहीन बनेको भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र दोलखाका निमित्त कार्यालय प्रमुख पलट चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पशु जाँच गर्ने उपकरण छ, तर राख्ने ठाउँको अभावले थन्क्याइएको छ । पशुलाई राखेर उपचार गर्ने ठाउँसमेत छैन ।’ दोलखा र सिन्धुपाल्चोक जिल्ला हेर्ने एक मात्र जिल्ला पशु अस्पतालका भवनहरु जीर्ण अवस्थामा पुगेका छन् । अस्पतालमा दैनिक उपचारका लागि ल्याइने पशुलाई राखेर उपचार गर्ने ठाउँ समेत नभएको चौधरीले बताउनुभयो । 

सबै पशुलाई एकै ठाउँमा राखेर उपचार गरिंदा उल्टै रोग एकअर्कामा सर्ने जोखिम उच्च हुन्छ । तर छुट्टाछुट्टै राख्नलाई ठाउँ छैन, उहाँले बताउनुभयो । कतिपय भवनका कोठामा पानी चुहिने गरेको छ । 

उपचारका लागि भेटेनरी अस्पतालमा लगिएका पशुहरु थप सरूवा रोग लिएर फर्किने चिन्ता रहेको किसानले गुनासो गरेका छन् । अस्पतालमा उपचार र परीक्षणका लागि प्रयोग गरिएका उपकरणहरु व्यवस्थापन गर्ने उचित ठाउँ नभएको अस्पतालले जनाएको छ । 

भेटेनरी अस्पतालले २५ वर्ष अगाडि निर्माण गरिएका भौतिक संरचनाबाट सेवा दिँदैआएको अस्पतालले जनाएको छ । अस्पतालको भौतिक पूर्वाधार निर्माण र क्षमता विस्तारका लागि बजेट विनियोजन भए पनि  भीमेश्वर नगरपालिकाले स्वीकृति नदिँदा बजेट फ्रिज हुनेगरेको कार्यालयले जनाएको छ । 

नेपाल सरकार कृषि तथा पशु विकास मन्त्रालयबाट भवन निर्माणका लागि आर्थिक वर्ष २०७८–७९ को १ करोड, २०७९–८० मा कृषि तथा पशु विकास मन्त्रालयबाट १ करोड ५० लाख र सहरी विकास तथा भवन कार्यालय धुलिखेलबाट ८० लाख बजेट विनियोजित भएको थियो । तर नगरपालिकाले भवनको नक्सा पास नगरिदिंदा बजेट फ्रिज गएको कार्यालयले जनाएको छ । 

कार्यालयले भवन निर्माणका डीपीआर तयार गरे तापनि नगरपालिकाले स्वीकृति नदिएका कारण निर्माणको प्रक्रिया अघि बढ्न नसकेको कार्यालयले जनाएको छ । अस्पतालको नाममा २ हजार २२० वर्गमिटर जग्गा रहेको कार्यालयले जनाएको छ ।