कोकिला ढकाल
इलाम, भदौ १२ गते । पछिल्लो समय इलाम अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि ‘बेड’ अभाव हुँदा भुईँमै राखेर उपचार गर्न थालिएको छ । अस्पतालको इमरजेन्सीमा आएका बिरामीलाई बेड अभाव हुँदा भुईँमै राखेर उपचार गरिरहेको जनाएको छ ।
अहिले दैनिकजसो ७० देखि ८० जनाको सङ्ख्यामा इमरजेन्सीमा बिरामीहरू आउने गरेको इमरजेन्सी इन्चार्ज टीका लुइँटेलले जानकारी दिनुभयो । डेङ्गु, स्कपसाइफस र भाइरल ज्वरोका बिरामीको चाप रहेको लुइँटेलले बताउनुभयो । ‘जीउ दुख्ने, हातखुट्टा करकर खाने, आँखाका दाना दुख्ने, प्रेसर कम हुने, ज्वरो अत्यधिक आउने लक्षणहरू हुन्छ’ लुइँटेलले भन्नुभयो, ‘अस्पतालमा राखेरै उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई भुईँमै भए पनि उपचार गरिरहेका छौँ ।’
अस्पतालको ओपिडीमा पनि दैनिक तीन सय ७५ जनासम्म बिरामी आउनेगरेको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताउनुभयो । ‘इमरजेन्सीमा जम्मा ११ वटा मात्र बेड छन् । इमरजेन्सीमै आएका बिरामीलाई बेड नपुगेपछि भुईँमै राखेर पनि सेवा दिइएको छ’ व्यवस्थापक खतिवडाले भन्नुभयो, ‘ओपिडीमा पनि बिरामीको सङ्ख्या थामिनसक्नु छ । जसोतसो धान्नु परेको छ ।’
खतिवडाका अनुसार गत साउन महिना र भदौ १० गते सम्ममा जाँच गराउने आउनेमध्ये ४१ जनामा डेङ्गु पुष्टि भएको छ । सोही अवधिमा २४ जनामा स्कपटाइफस देखिएको छ । यीमध्ये डेङ्गुका १० जना र स्कपटाइफसका पाँच जना बिरामी भने अस्पतालमै भर्ना भएर उपचार गराएका छन् ।
यति धेरै बिरामीको चाप रहे पनि उपचार गर्न आउनेलाई अस्पतालमै उपचार गरिरहेको र अन्यत्र रेफर भने गर्नु नपरेको जनाइएको छ । जिल्लामा अहिलेसम्म २०३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।