सुजल श्रेष्ठ
प्युठान, भदौ ११ गते । नौबहिनी गाउँपालिका –४ खवाङका स्थानीयले शनिबार जनश्रमदान गरी स्थानीय बाटो मर्मत गरेका छन् । स्कुलधारा–मधारा–देउराली सडक खण्डमा वर्षाले बिग्रिएको बाटो स्थानीयले श्रमदान गरी मर्मत गरेका हुन् ।
समावेशी टोल विकास संस्थाको नेतृत्वमा स्थानीयले श्रमदानबाट वर्षातका कारण बिग्रिएको बाटो मर्मत गरिएको वडा अध्यक्ष भीमबहादुर घर्तीमगरले बताउनुभयो । ‘निःस्वार्थ भावनाले स्थानीयले श्रमदानमा जुटेका हुन्’ उहाँले भन्नुभयो, ‘जनश्रमदानबाट वडाका धेरै बाटो सजिलै मर्मत भएको छ ।’
वडामा सुरु भएको श्रम संस्कृतिलाई निरन्तरता दिँदै वडाको विकास निर्माणको काम अघि बढाउने वडा अध्यक्ष घर्तीमगरले बताउनुभयो । सदरमुकाम खलङ्गाको बुढाचौर–भञ्ज्याङ मोटर बाटो पनि जनश्रमदान बाटै मर्मत गरिएको छ ।
वडा ४ ले नेतृत्व गरेर वर्षातको पानीले बिगारेको बाटो मर्मत गरिएको हो । वडा अध्यक्ष कुमार श्रेष्ठले वडाभित्रका सामान्य मर्मत गरेर सञ्चालन हुन सक्ने बाटोको जनश्रमदानबाट मर्मत गर्न थालिएको बताउनुभयो ।
स्थानीयलाई हौसला दिन मल्लरानी गाउँपालिकाका जनप्रतिनिधि जनश्रमदानमा सहभागी भएको उहाँले बताउनुभयो । जनश्रमदानबाटै मल्लरानी गाउँपालिका –३ स्थित सिर्सेगैरा–मुण्डाँडा–चुँजाठाटी सडक मर्मत गरिएको छ ।
जनश्रमदानमा करिब तीनसय स्थानीय सहभागी भएको वडा अध्यक्ष नोमराज पौडेलले बताउनुभयो । ‘श्रमदानलाई निरन्तरता दिने हौसला मिलेको छ,’ अध्यक्ष पौडेलले भन्नुभयो, ‘कम्तीमा महिनामा एक दिन श्रमदान गर्ने योजना छ ।’ सामान्य मर्मतका काम श्रमदानबाट गरेर वडाको बजेटलाई अरु क्षेत्रमा उपयोग गर्न सकिने उहाँको भनाइ छ ।