• २५ पुस २०८१, बिहिबार

राजनीतिले देश अस्तव्यस्त : डा. कोइराला

blog

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला । तस्बिर : निशा राई

निशा राई

धरान, भदौ ११  गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिका कारण धरान मात्र नभई अहिले देश नै अस्तव्यस्त रहेको बताउनुभएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र १ ले चलाएको एक महिने ‘ग्रिन एण्ड क्लिन धरान’ अभियानको समापन कार्यक्रममा आज यहाँ उहाँले सो कुरा बताउनुभएको हो । 

‘धरान पहिले–पहिले ग्रिन नै थियो, बिस्तारै–बिस्तारै हामीले नै समाप्त गर्दै गयौँ जसका कारण अतिवृष्टि, अनावृष्टि, जलवायु परिवर्तन ग्लोवलवार्मिङ भएको हो’ डा. कोइरालाले भन्नुभयो, “ग्रिन एण्ड क्लिन धरान अभियान मा २१ हजार ५ सय बिरुवा बाँडिएको छ र  अझै यस्तै  कार्यक्रमहरू गर्दै जानेछौँ ।”

उहाँका अनुसार हाम्रो देश हाल राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक, धार्मिक अवस्थाको कारण समुन्नत हुन नसकेको पनि बताउनुभयो । अब हामी सबैको जिम्मेवारी भनेको राजनीतिक अस्थिरता, सुशासन, भ्रष्टारमुक्त समाज बनाउनु हो उहाँले भन्नुभयो ।्

‘अमेरिकाको एक रिपोर्टमा नेपालमा सबै क्षेत्रमा अवसर छन् तर सरकार अस्थिर छ, भ्रष्टाचार प्रचुर मात्रामा छ । कर्मचारी तन्त्र छ, सरकारपिच्छे कानुन चेन्ज हुन्छ यसले गर्दा नेपालमा लगानी लगाउन गाह्रो भएको छ’ उल्लेख भएको उहाँले बताउनुभयो ।  

‘बिपी कोइराला र अन्य साथीहरूले गरेको काममा जनतासँग नजिक थियौँ, अहिले हामी जनताभन्दा टाढा छौँ, जसलेगर्दा जनताले पार्टीलाई विश्वास गर्न छाडेका छन्’ उहाँले भन्नुभयो । 

नेपाली कांग्रेसले घर–घर पुग्ने जमर्कोको साथ ग्रिन एण्ड क्लिन धरान अभियान कार्य अत्यन्तै सह्रानीय छ, यसलाई अरू जिल्ला प्रदेश सङ्गठनले पनि अपनाउन जरुरी रहेको डा.कोइरालाले बताउनुभयो ।