• १९ असार २०८१, बुधबार

लिलाम नहुँदा राजस्व गुम्दै

blog

जिल्ला समन्वय समिति कपिलवस्तुको परिसरमा रहेका गाडी ।

नारद कोहार

तौलिहवा, भदौ ११ गते । कपिलवस्तुलगायत देशभरका सरकारी र प्रहरी कार्यालयमा थन्किएका करोडौँ मूल्य बराबरका गाडी समयमै लिलाम बिक्री नहुँदा कवाडी अवस्थामा पुगेका छन्। चोरी तस्करीबाट बरामद गरिएका ती गाडीमध्ये अधिकांश मोटरसाइकल र केही जिप छन्। भारतसँगको खुला सीमाका कारण कपिलवस्तुमा मोटरसाइकल, ट्याक्टर, जिप, कारजस्ता यातायातका साधनको चोरी तस्करी हुने गर्दछ।  प्रहरी कार्यालयमा रहेका गाडीमध्ये अधिकांश मोटरसाइकल चोरी तस्करीबाट बरामद गरिएका छन्। कार्यविधि अनुसार समयमै लिलाम बिक्री नहुँदा करोडौँ मूल्यका साधन अलपत्र छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले २०७० को ऐन तथा २०७७ को नियमावली अनुसार अदालतको स्वीकृतिमा जिल्ला प्रशासन कार्यालयलाई जिम्मा दिएकाले सोही अनुसार प्रक्रिया अघि बढेको बताउनुभयो। उहाँले विभिन्न समयमा जफत वा लिलाम गरिएको सवारीसाधनको अवस्था हेरे लिलाम गर्ने, नष्ट गर्ने प्रक्रिया अघि बढेको बताउनुभयो। जिल्ला समन्वय अधिकारी भूमिराम पोखरेलका अनुसार जिल्ला समन्वय समिति कपिलवस्तुमा लामो समयदेखि प्रयोग नभएको अवस्थामा दुई वटा जिप र एउटा एक्साभेटर रहेको बताउनुभयो। उहाँले यहाँ भएका गाडी मर्मत गरेर चलाउने स्थितिमा नरहेकाले सो साधनलाई लिलामी प्रक्रिया अपनाएर लिलाम बिक्री गर्ने बताउनुभयो तर सरकारी ढिलासुस्तीले कैयौँ सवारीसाधन माटोमै मिलिसकेका छन्। कृष्णनगर भन्सार कार्यालयका प्रमुख गगनबहादुर विकका अनुसार सशस्त्र र नेपाल प्रहरीले बरामद गरेका चोरी तस्करीका गाडीको लिलाम बिक्री कानुनी प्रक्रियाबाट भइरहेको बताउनुभयो।

लामो समयदेखि सरकारी र प्रहरी कार्यालय परिसरमा थन्किएका गाडी लिलाम बिक्री नहुँदा चालु अवस्थाका गाडी पनि बेकामे बनेका छन्। सामान्य मर्मत गरेर चलाउन सकिने गाडी पनि खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेका छन्। सामान्य मर्मत गरेर चलाउन सकिने गाडीलाई तत्काल मर्मत गरी कार्यालय प्रयोजनमा ल्याउन सकिए गाडी खरिद शीर्षकबाट राज्यलाई करोडौँ रकम फाइदा हुने बताइन्छ।