• ३० वैशाख २०८२, मङ्गलबार

गुल्मी दरबारमा सात सय नब्बे जना दीर्घरोगी

blog

तम्घास समाचारदाता

तम्घास, भदौ ११ गते । गुल्मीको दरबार गाउँपालिकामा ७९० जना दीर्घरोगी पाइएको छ। स्वास्थ्य संस्थाको गत आर्थिक वर्षको समीक्षा कार्यक्रममा ७९० जना दीर्घरोगी रहेको तथ्याङ्क सार्वजनिक भएको छ। पालिकाभित्रका सातवटै वडामा ५६७ जनामा उच्च रक्तचाप, १३४ जनामा सुगर र ९९ जना दमका रोगी गरी ७९० जना दीर्घरोगी रहेको स्वास्थ्य शाखाका प्रमुख नारायण अर्यालले जानकारी दिनुभयो। 

दीर्घरोगी ४० वर्ष उमेरदेखि ९६ वर्षसम्मका रहेको र उहाँहरूलाई पालिकाद्वारा निःशुल्क औषधीको  व्यवस्था गरिएको स्वास्थ्य शाखाले जनाएको छ। पछिल्लो समयमा पालिकाभित्र १७ जना मानसिक रोगी पनि देखा परेका छन्।  उहाँहरूलाई उचित सल्लाह र परामर्श आवश्यक रहेको स्वास्थ्य शाखाले जनाएको छ। यस्तै पालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकको घरमै गएर स्वास्थ्य परीक्षण गर्ने गरेको पनि जनाएको छ।

पालिकाले प्राथमिक उपचारका लागि ८३ जना स्वास्थ्य स्वयम्सेविकालाई किट बक्स प्रदान गरेको छ। ग्रामीणस्तरका टोलको पहिलो स्वास्थ्यकर्मी भनेकै स्वयम्सेविका भएकाले उनीहरूलाई प्राथमिक उपचारका लागि किट बक्स प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ। किट बक्सभित्र प्राथमिक उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री रहेको र तत्कालका लागि किट बक्सले ठुलो टेवा पुग्ने पालिकाले विश्वास व्यक्त गरेको छ। गत आर्थिक वर्षमा पालिकाभित्रका ९२ जना गर्भवती महिलाले निःशुल्क एम्बुलेन्सको सुविधा लिएका छन्। पालिकाले पालिकाभित्रै पालिकैको एम्बुलेन्स र पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकी अन्यन्त्र जान परेमा पालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्दै आएको छ।

यस्तै १३३ जना गर्भवती महिलाको वडामै गएर भिडियो एक्सरेसमेत गरेको स्वास्थ्य शाखाले जनाएको छ। गर्भवती महिलालाई हिँडडुल गर्न समस्या हुने र कतिपय स्थानमा समयमा भिडियो एक्सरेसमेत नगर्ने भएकाले सुविधाका लागि वडामै गएर भिडियो एक्सरे गरेको स्वास्थ्य शाखाले जनाएको छ।