• ११ मंसिर २०८१, मङ्गलबार

परम्परागत पहिरनमा युवा पुस्ताको आकर्षण

blog

हुम्ला समाचारदाता

हुम्ला, भदौ ११ गते  । हिमाली जिल्ला हुम्लामा युवा पुस्ताका महिलामा परम्परागत पहिरनप्रति आकर्षण बढ्न थालेको छ । यसको संरक्षण र प्रवर्धनका लागि अघिल्लो पुस्ताका महिलाले यसलाई अनिवार्य लगाउनैपर्ने परिस्थिति सिर्जना गर्दा विस्तारै नयाँ पुस्ताका युवती पनि स्वतःस्फूर्त रूपमा यो पहिरनप्रति आकर्षित हुन थाल्नुभएको हो । 

सिमकोट गाउँपालिका–६ की रुद्रकला रावतले पाका पुस्ताका महिलाको लामो प्रयासपछि पछिल्लो पुस्ताका युवतीहरू वर्षौं पुरानो परम्परागत पहिरनमा आकर्षित हुन थालेको बताउनुभयो । यी परम्परागत पहिरनमा विशेष गरी चोलो, गाउन, पटुका (कुन्डपिड्ने), पोते, चाँदीका सिक्काका दुई वटा माला रहेका छन् । यो पहिरन कुनै बेला विवाहित महिलाले लगाउने पहिचान बनाएको पहिरनसमेत हो । उहाँले नयाँ पुस्ताका युवती आफूले लगाउनका लागि यसको जोहो गर्न थालेको र चाडपर्व, अवसर, विशेष मेलामा सजिएर निस्कने गर्न थालेको बताउनुभयो । 

अझ रमाइलो पक्ष त देउडा नाच्दा अनिवार्य रूपमा महिलाले लगाउने गर्दै आउनुभएको छ । सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया भामले यसले एकातिर आफ्नो पहिचान बनाउन सहज भएको छ भने अर्कोतर्फ पहिरनको संरक्षणमा सहयोग पुगेको बताउनुभयो । उहाँले यो पहिरन लोप हुनै लागेका बेला यसको संरक्षणका लागि युवा पुस्ताका महिलाहरू लागेर नयाँ पुस्ताकी युवतीलाई समेत आकर्षित गर्न सहयोग गरेकोमा खुसी व्यक्त गर्नुभयो ।