खलङ्गा समाचारदाता
जाजरकोट, भदौ ११ गते । बाली लगाएर बाँदर, बँदेल, दुम्सी, स्यालजस्ता वन्यजन्तुबाट जोगाउन पहाडी जिल्लामा निकै कठिन हुँदै गएको छ । खेतबारीमा लगाइएको बाली जोगाउन बिहानदेखि बेलुकासम्म किसानले चौकीदारी नगरी सुखै छैन । नलगाड, भेरी, छेडागाड नगरपालिका, बारेकोट, जुनीचाँदे, शिवालय र कुशे गाउँपालिकामा बाँदर सँगसँगै जङ्गली जनावर दुम्सी, स्यालले मकै खेती नष्ट पारेपछि किसान हैरान भएका छन् । खेतबारीका किसानले दैनिक चौकीदारी गरिरहेका छन् ।
भेरी नगरपालिका–१२ का मधुप्रसाद शर्माले मकै पाकेर घर भित्र्याउने बेला बाँदरलगायत जङ्गली जनावरले दुःख दिएको बताउनुभयो । बिहानदेखि बेलुकासम्म परिवारका एक सदस्य खेतबारीमा बाली कुर्न व्यस्त हुने गरेका छन् । भौगोलिक विकटता भिरालो जमिन अन्य बाली लगाउँदा राम्रो नफल्ने उत्पादन र उत्पादकत्वमा कमी आउने भएपछि अधिकांश किसानले मकै लगाउने गरेका छन् । नलगाड नगरपालिका–४ का पवित्रा रावल, मनबहादुर खत्री, सुनील खत्रीलगायत किसान मकै जोगाउन दिनभर खेतबारीमा हाहा हुहु गर्दै चौकीदार बस्ने गरेका छन् । किसान पवित्रा रावलले छ महिनादेखि वर्ष दिन खाना पुग्ने मकै खेती नष्ट गर्न थालेपछि किसान चिन्तित बनेको बताउनुभयो । मकै नपाकेर घर नभित्र्याउँदासम्म मकै जोगाउन बारीमा बस्नु परेको भेरी नगरपालिका–१३ का रूपबहादुर खत्रीले बताउनुभयो ।