राजु लामिछाने
रुकुमपश्चिम, भदौ १० गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिकामा तालाबन्दी गरिएको छ । कार्यालयभित्रै उपप्रमुखद्वारा कर्मचारी कुटिएको भन्दै नगरपालिकाको कामकाज ठप्प भएको हो ।
शनिबार मुसीकोट नगरपालिका –१ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयको उच्च माध्यमिक तहको लेखा विषयको शिक्षक पदपुर्तिका लागि आवश्यक काम भइरहेको बेला नगरपालिकाका शिक्षा अधिकृत नरेन्द्र ओलीलाई उपप्रमुख बिमलकुमार पुनले हातपात तथा दुव्र्यवहार गरेको भन्दै आज नगरपालिकामा कार्यरत कर्मचारीहरुले शान्तिपूर्ण बिरोध कार्यक्रम अन्तर्गत तालाबन्दी गरेको बताएका छन् ।
अहिले कर्मचारीले मूलगेटमै ताला लगाएर धर्ना दिएपछि नगरपालिकाको सेवा प्रवाह ठप्प भएको छ । त्यसैगरी नगरपालिकाका सबै कर्मचारीले नगर प्रमुख र प्रमुख जिल्ला अधिकारीसमक्ष विभिन्न सात बुँदे माग राखेका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काको नेतृत्वमा रहेको कर्मचारीले नगर प्रमुख महेन्द्र केसी र निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालसमक्ष मागपत्र पेश गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृतले कर्मचारीको बैठक बसाल्नुपर्ने, दोसीलाई कडा कारबाही गर्नुपर्ने, कर्मचारीलाई भरपर्दो शान्ति सुरक्षाको वातावरण मिलाउनुपर्ने, नगरपालिकामा कार्यरत कर्मचारीको गल्ती भए कानुन बमोजिम कारबाही गर्नुपर्ने माग राखेका छन् ।
त्यसैगरी कानुन कार्यान्वयनमा जनप्रतिनिधि पन्छिएर कर्मचारीलाई दोस लगाउने कामको अन्त्य हुनुपर्ने, जनप्रतिनिधि र कर्मचारीले एक अर्काको भूमिका र काममा हस्तक्षेप गर्न नपाउने र उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गरिनुपर्ने माग राखिएको छ ।उपप्रमुख बिमलकुमार पुनले भने आफूले कर्मचारीलाई हातपात नगरेको प्रतिक्रिया दिनुभयो ।