• २५ पुस २०८१, बिहिबार

रूपान्तरण अभियान सफल बनाउन आग्रह

blog

काठमाडौँ, भदौ १० गते । प्रतिनिधि सभाका पूर्वसभामुख एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानलाई सफल बनाउन आग्रह गर्नुभएको छ । 

प्रेस सेन्टर नेपालको शनिबार सम्पन्न तेस्रो पदाधिकारी बैठकमा उहाँले राजनीतिक सङ्कट बढिरहेको र जनताको साथले मात्रै वर्तमान सङ्कटलाई जित्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल र नेपालीको मुक्तिका लागि माओवादी केन्द्रको प्रमुख भूमिका रहेकाले माओवादीको तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलाई सफल बनाउनुको विकल्प छैन ।” उहाँले यस अभियान अन्तर्गत प्रत्येक घरमा गएर प्रशिक्षणमार्फत जनतालाई माओवादी आन्दोलनमा जोड्नुपर्ने धारणा राख्नुभयो । रूपान्तरण आफैँबाट सुरु गर्नुपर्ने बताउँदै उपाध्यक्ष सापकोटाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका कामले सबैतिर उत्साह बढेको दाबी गर्नुभयो । 

प्रेस सेन्टरका सहइन्चार्ज महेश्वर दाहालले पुरानै ढर्राले पार्टी नचल्ने भन्दै पत्रकार आलोचक र रचनात्मक हुनुपर्नेमा जोड दिनुभयो । प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटाले पार्टीको नीति, योजना र कार्यक्रमलाई सफल बनाउन प्रेस सेन्टर नेपाल एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

बैठकमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रेस सेन्टरलाई समेत तीनमहिने अभियान प्रचारमा लगाइने बताउनुभयो । माओवादी केन्द्रले भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रूपान्तरण अभियान तीन महिना देशभर सञ्चालन गर्दै छ ।