पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, असार २५ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्ड बुधबार बिहानैबाट पूर्णरूपमा अवरुद्ध भएको छ । साथै बर्दघाट–४ स्थित खुर्सानी खोला नजिक सडक भासिएपछि यस खण्डमा सवारी आवागमन ठप्प भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विरदत्त पन्तले सडक भासिएका कारण दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकिएको जानकारी दिनुभएको छ ।
सडक मर्मतको काम जारी रहे पनि सडक सुचारु हुन केही समय लाग्ने प्रहरीले जनाएको छ । यसबाट यस सडकखण्ड हुँदै यात्रा गर्ने यात्रुहरू र सवारी चालकहरूलाई समस्या भएको छ । वैकल्पिक मार्ग उपलब्ध नभएकाले सडक खुल्ने समयसम्म धैर्य गर्न यात्रुहरूलाई आग्रह गरिएको छ ।