• २६ वैशाख २०८२, शुक्रबार

ओलीले सर्वदलीय बैठकमा पनि नेकपा एसलाई निषेध गरे : माधवकुमार नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।

काठमाडौं, भदौ ९ गते। सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको बताउनुभएको छ। 

शनिबार काठमाडौँमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा बोल्दै उहाँले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको गुनासो गर्नुभएको हो। 

संसदमा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी सो बैठकमा सहभागी भए पनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर सो बैठकमा आफ्नो पार्टीलाई सहभागी नगराएको अध्यक्ष नेपालको जिकिर थियो। 

अध्यक्ष नेपालले ओलीले आफूलाई राष्ट्रपति बनाउने प्रस्ताव पनि नगरेको बताउनुभयो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने सबै बैठकमा आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको उल्लेख गर्दै उहाँले पार्टीलाई बिजोग बनाएर आफूले भने राष्ट्रपति बन्न त्यतिखेर नचाहेको समेत बताउनुभयो। अध्यक्ष नेपालले नेकपा ब्युँताऊ भनेर आफूले पठाएको प्रस्तावलाई पनि ओलीले लत्त्याएको दोहोर्‍याउनु भयो। 

उहाँले भन्नुभयो, ‘ओलीले यो पार्टीको मतलब नै नराख्ने। हुँदाहुँदै हिजोअस्ती त संसदमा अरू सबै पार्टी हुन्छ। तर, एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन्। त्यो सुनकाण्डको बारेमा भएको छानबिन कमिटीमा अरू सबै बसे ६ वटा पार्टी। राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन्। अब हामी पनि सोचिरहेका छौँ कि हामीले पनि केही गर्नुपर्छ। धेरै भलादमी परेर हुँदैन।’’

अध्यक्ष नेपालले ओलीको तानासाही प्रवृत्तिकै कारण विद्रोह गरेर नयाँ पार्टी बनाउनुपरेको पनि बताउनुभयो।