• १० मंसिर २०८१, सोमबार

ऐना (कविता)

blog

न त कहिल्यै आजसम्म 

ऐनामा

अनुहार देखियो कसैको

केवल 

देखिनु र हेरिनुका भ्रमबाहेक

ऐनामा केही देखिन्न ।


०००

आफ्नो मुटु

अनुहार र ऐना दुवै हो

जहाँ

हेर्न नचाहे पनि देखिन्छ

सिसाको ऐना त अस्थायी हो

एउटै ठोकरमा फुट्ने गर्छ

मान्छेको 

अनुहार त केवल 

आफ्नै मुटुमा झल्कन्छ ।


०००

आफ्नो अनुहार 

हेर्न मन छ भने

हृदयका 

कसिङ्गरहरू सफा गर 

ऐना त 

छायाँसम्म मात्र न हो

तिम्रो मुटुको बिचमा 

तिम्रो अनुहार स्वयम् झल्कन्छ

ठिक त्यसै गरी

जसरी 

कृष्णको मुरलीमा

नबजाए पनि 

धुन आफैँ निस्कन्छ ।


०००

ऐना त 

एउटा सिसा मात्रै त हो

जसको पछाडिपट्टि

पोतिएको रङ रहुञ्जेल

अनुहार देखिन्छ

मान्छे !

तिम्रो आफ्नै

मुटुको बिचमा मात्र 

तिम्रो 

सच्चा अनुहार 

झल्कन सक्छ !