• २७ वैशाख २०८१, बिहिबार

लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिताको तयारी

blog

इन्द्रजात्राका अवसरमा लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिताको आयोजना हुने । तस्बिर : प्रजित शाक्य

काठमाडौं, भदौ ८ गते । ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले इन्द्रजात्राका अवसरमा लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिताको आयोजना हुने भएको छ । सो गीत गायन प्रतियोगिता पाटन दरबार क्षेत्रको भन्दाःक्यबमा असोज ११ गते हुनेछ ।

यस प्रतियोगिताको प्रमुख प्रायोजक लिटिल स्टार रेकर्डस् हो भने पाटन म्युजियम सहयोगीको रुपमा रहेको छ । यस प्रतियोगितामा सर्वोकृष्ट गीतलाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार, तथा उत्कृष्ट गीत (सान्त्वना) ले २५ हजार रुपियाँ प्राप्त गर्नेछन् । यसैगरी, उत्कृष्ट गायक, सङ्गीतकार र रचनाकारलाई ट्रफीसहित जनही २५ हजार रुपियाँले पुरस्कृत गरिनेछ । यस प्रतियोगितामा सहभागी टिमले कम्तीमा चार जना वाद्यवादक संगीतकारहरुको साथमा गीत प्रस्तुत गर्नुपर्नेछ ।

आयोजक ललितपुर महानगरपालिका– १ का अध्यक्ष निर्मलरत्न शाक्यले आफ्नो पहिलो कार्यकालमा कला विकासका लागि कलाकार समिति बनाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘स्थानीय तहमै पहिलो पल्ट निर्माण भएको कलाकार समितिले सक्रियताका साथ इतिहास र परम्परा मात्र नभइ नवसृजना एवम् सर्जकहरुमा उत्साह छर्न विभिन्न कार्यक्रम गरिसकेको छ । यो गीत प्रतियोगिताले पनि  नवकलाकारहरुको खोजी, कला विकास, स्थापित कलाकारहरुका लागि मञ्च उपलब्ध गराउने विश्वास लिएको छु ।’’

ललितपुर मनपा कलाकार समितिले वरिष्ठलाई सम्मानदिने उद्देश्यसाथ ‘ललितरत्न’ उपाधि अर्पण गर्दै आएको छ । यसैगरी, विगत तीन वर्षदेखि गीत तथा नृत्य प्रतियोगिता, कला पाठशाला, इन्द्रजात्राको अवसरमा सांस्कृतिक कार्यक्रम, होलीया मेला, श्रीपञ्चमीको अवसरमा शास्त्रीय संगीत उत्सव, न्हूदँया भिंतुना सांस्कृतिक कार्यक्रम पनि गर्दै आएको छ ।

यस प्रतियोगिताका संयोजक तथा गायक सुरजवीर बज्राचार्यले आयोजकलाई पठाएको अडियो, भिडियो हेरेपछि मात्र आयोजकले अडिशन राउण्डमा बोलाउनेछ र सो चरणमा सफल सफल प्रतियोगी समूहमात्र लिटिल स्टार नेपालभाषा गीत प्रतियोगितामा सहभागी हुन पाउने जानकारी दिनुभएको छ ।