बाबुराम कार्की
वराहक्षेत्र (सुनसरी), भदौ ८ गते । श्रीलङ्का टापुमा कटान बढ्दै गएपछि स्थानीयहरुले कटान रोक्न रुख काटेर नदी किनारमा हाल्न थालेका छन् । असारदेखि नै कोशी नदीले गरेको कटान नरोकिएपछि टापुबासी मिलेर नदी किनारमा रुख हाल्न सुरु गरेका हुन् ।
श्रीलङ्का टापुको शिवालय टोलको कोशी नदी किनारमा नदीको बहावलाई रोक्न रुख काटेर हाल्न थालेको स्थानीय अनिल चनद्रवंशीले बताउनुभयो । “तीन दिनदेखि तारले बाँधेर नदी किनारमा रुख हाल्ने गरेका छौँ । टापुक्षेत्रमा भएका बयर, जुलेविका ७० वटा रुख काटेर नदी किनारमा हालिसकेका छौं । हाँगैसहित रुख हाल्दा कटान कम हुने भएकाले रुख हालेका हौं, उहाँले भन्नुभयो ।
हरेक वर्षको वर्षायाममा कोशीले कटान गरेर दुःख दिने गरेको टापुका सन्तोष मण्डलले बताउनुभयो । उहाँले भन्नुभयो “अरु वर्षभन्दा यो वर्ष एक किलोमिटरभन्दा बढी नै कटान गरेर टापुबासीको उठिबासै लगाउन आँट्यो । भदौ कहिले जान्छ जस्तो भएको छ ।”
कोशीको केही बहाव पश्चिमतर्फ रहेकाले टापुमा कटान भइरहेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ मा पर्ने टापुमा कटान भइरहेको हो । कटान भएसँगै नदी उकासमा रहेका टापुका घर सार्ने काम भइरहेको टापुका स्थानीय विनोद मण्डलले बताउनुभयो । टापुमा असारदेखि नै कोशीले सामान्य कटान गर्दै आएको थियो । कटानको जोखिममा परेको वराहक्षेत्र ९ गरैया टोलका विश्वनाथ उराँव, राजेश उराँव र अजम्लाल उराँवको फुसको घर यसअघि नै सारिएको छ । विनोद मण्डललका अनुसार नदी उकासमा रहेका क्षेत्रमा कोशी कटान गरिरहेको छ ।
पश्चिमतर्फको भूभाग कटान गर्दा श्रीलङ्का टापुका बस्ती नै जोखिममा पर्दै गएको वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले बताउनुभयो । “कोशी कटानलाई नियन्त्रण गर्न तत्काल जिल्ला प्रशासन र गृह मन्त्रालयमार्फत बिहार सरकारको ध्यानाकर्षण गराउन पहल गरेको छु,” उहाँले भन्नुभयो ।
“बिहीबार एक क्विन्टल जिआइ तार र डिजेल लिएर नगरप्रमुख रमेश कार्की आउनुभएको थियो । ट्याक्टरबाट तानेर नदीसम्म रुख ल्याउनका लागि डिजेल पनि ल्याइदिनुभएको छ,” टापुका विनोद मण्डलले भन्नुभयो ।
सप्तकोशी कटानका कारण सुनसरीको वराहक्षेत्र नगरपालिका, उदयपुरको बेलका नगरपालिका र सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिका, कोलारी तिलाठी र छिन्नमस्ता नगरपालिकाको कोशी किनार क्षेत्रमा पर्ने दर्जनौं बस्तीहरू जोखिममा छन् ।
चारैतिरबाट कोशी नदी सुसाउँदै बगिरहने भएकाले हावापानी चिसो र वातावरण स्वच्छ रहेको टापुमा अन्न उब्जनी प्रशस्त मात्रामा हुने गरेको छ ।
टापुमा चन्द्रवंशी, राई, लिम्बू, बाहुन, क्षेत्री, मगर, कविरथ, झाँगड, यादवलगायत जातजातिको बसोवास रहेको टापुमा कोशी कटानको कारण जोखिममा पर्दै गएको छ ।
सप्तकोशीमा आज (शुक्रवार) दिउसो १ बजे २ लाख ३५ हजार ७ सय ७० क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजको ३१ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमका कर्मचारी सुगम गिरीले जानकारी दिनुभयो ।