• १२ मंसिर २०८१, बुधबार

स्वास्थ्य बीमाकाे आकर्षण बढ्दो

blog

सदरमुकाम तौलिहवास्थित कपिलबस्तु अस्पतालमा स्वास्थ्य बीमा सेवा लिइँदै । तस्विरः नारद कोहार ।

नारद कोहार

तौलिहवा, भदौ ८ गते । कपिलबस्तुमा स्वास्थ्य बीमाप्रति अर्कषण बढ्दै गएको छ । जिल्लामा करिब एक लाखभन्दा बढी नागरिक स्वास्थ्य बीममा आवद्ध छन् । स्वास्थ्य बीमा बोर्ड कपिलबस्तुका अनुसार बीमामा हालसम्म ९७ हजार ४ सय ६२ जना आवद्ध भएका हुन् । 

जिल्लामा २०७८ को जनगणना अनुसार कपिलबस्तुको कुल जनसङ्ख्या ६ लाख ८२ हजार ६६१ रहेतापनि स्वास्थ्य बीमामा १३ प्रतिशत मात्र आवद्ध छन् । 

बोर्डका जिल्ला संयोजक वरिष्ठ तिवारीका अनुसार जनचेतनाको अभाव, स्वास्थ्य संस्थाहरुले समयमा औषधिको व्यवस्थापन नगर्नु र गरिबीका कारण अझैपनि केही नागरिक स्वास्थ्य बीमामा आवद्ध हुन नसकेको बताउनुभयो । जिल्लाको दश वटै स्थानीय तहमध्ये शिवराज, बाणगंगा, महाराजगञ्ज नगरपालिका र यशोधरा गाँउपालिकामा स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति समेत गठन गरिएको तिवारी बताउनुभयो । कर्मचारीको अभाव र विमितको चाप बढी भएकोले काम गर्न कठिनाई भएको उहाँले बताउनुभयो ।

तिवारीका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये बाणगंगा नगरपालिकामा बीमा गर्नेको सङ्ख्या सबैभन्दा बढी छ । कार्यालयका अनुसार बाणगंगा नगरपालिकामा ३० हजार ८५२ जना, कपिलबस्तु नगरपालिकामा १६ हजार ७१७ जना, बुद्धभुमी नगरपालिकामा १२ हजार ७५५ जना, महाराजगञ्ज नगरपालिकामा १० हजार ५०५ जना, कृष्णनगर नगरपालिकामा जना ६ हजार १७८, र शिवराज नगरपालिकामा ५ हजार ९७४ जना स्वास्थ्य बीमामा आवद्ध छन् । यस्तै, यशोधरामा चार हजार ५२७ जना, मायादेवी २ हजार ३०७ जना, शुद्धोधन ३ हजार ४८५ जना र विजयनगर गाँउपालिकामा ४ हजार १६२ जना स्वास्थ्य बीमामा आबद्ध भएको कार्यालयले जनाएको छ ।

जिल्लामा कुल पाँच वटा सेवा प्रदयक स्वास्थ्य संस्था रहेका छन् । कपिलबस्तु अस्पताल, पिपरा अस्पताल, शिवराज अस्पताल बहादुरगञ्ज, हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्र र महाराजगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रबाट सर्वसाधारणले स्वास्थ्य बीमाको सुविधा पाउने गरेका छन् । स्वास्थ्य बीमामा नागरिकलाई अधिकभन्दा बढी आवद्ध गराउन कपिलबस्तु नगरपालिकाले योगदान रकमको ५० प्रतिशत व्यर्होदै आएको छ । 

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रूपमा रु. तीन हजार पाँच सय तिर्नुपर्ने हुन्छ । परिवारमा पाँच जनाभन्दा बढी सदस्य भएका प्रति सदस्यको रु. सात सयका दरले थप रकम तिर्नुपर्ने प्रावधान छ । स्वास्थ्य बीमा नियमावली २०७५ ले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई नेपाल सरकारले नै प्रिमियम रकम तिरेर निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ । 

सरकारले बीमामा आवद्ध पाँच जना सदस्यलाई वार्षिक रु. एक लाख बराबरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको हो । नेपालको संविधान २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकको रूपमा स्थापित गरेपछि नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन आर्थिक वर्ष २०७२-७३ देखि यो कार्यक्रम लागु भएको हो ।

जिल्लामा सुरुवात भएको स्वास्थ्य बीमामा सबै वर्ग बीमामा आवद्ध भएका छन् । बीमा गरेपछि निजी क्लिनिक जाने बिरामी सरकारी अस्पताल, स्वास्थ्य चौकी जाने प्रचलन समेत बढेको छ । स्वास्थ्य बीमा कार्यक्रम लागु हुँदासाथ आम सर्वसाधारण जनता अनविज्ञ भएपनि हाल आएर बीमा गराउन फोन गरेरै बोलाउने गरेको दर्ता सहयोगी प्रेम लता भट्टले बताउनुभयो ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बीमा गर्ने कुनैपनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, शल्यक्रिया लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको झण्डै एक हजार एक सय ३३ प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् ।