झापा, भदौ ८ गते । शिवसताक्षी नगरपालिका–९ झरना पुल नजिकै काममा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका–९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय विकास भन्ने अरूण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु छन् ।
उक्त स्थानमा लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले मे.४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही तरिकाले चलाई आएका उनीहरुलाई सोधपुछ गर्ने क्रममा मोटरसाइकलमा सवार अशोकले लुकाईछिपाई ल्याएको बन्चरो प्रहार गर्दा प्रहरी निरीक्षक कटुवाल घाइते हुनुभएको थियो ।
बन्चरो प्रहारबाट घाइते हुनुभएका प्रहरी निरीक्षक कटुवाललाई स्थानीय दुधे मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको छ ।
साथै मोटरसाइकलमा चालक अरूण तामाङ, मोटरसाइकलमा सवार अशोक पोखरेल र लक्ष्मण टुडुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गर्ने क्रममा अशोकको साथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ एक सय मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।