मीना कँडेल
कावासोती, भदौ ८ गते । जिल्ला प्रशासन कार्यालय नवलपुरले म्याद नाघेको सामग्री बिक्री गर्ने व्यवसायीलाई कारबाही गरेको छ । विभिन्न क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा म्याद नाघेका सामग्री बिक्री वितरण गरेको पाइएको हो । जसअन्तर्गत गैँडाकोटमा रहेको शिवकृपा स्टोरलाई म्याद गुज्रेका सामग्री बिक्री गरेको भेटिएकाले रु.५० हजार जरिवाना तिराइएको छ ।
बजार अनुगमनका क्रममा उक्त पसलबाट धेरै मात्रामा म्याद गुज्रेका सामग्री फेला परेको थियो । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालका सामग्री विक्रीमा राखेको पाइएपछि उक्त पसललाई नगद जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो । उपभोक्ताको स्वास्थ्यमा असर पार्ने कुनै पनि सामग्री नबेच्न उहाँले विक्रेताहरुलाई अनुरोध गर्नुभयो ।
उपभोक्ताले समेत आफूले उपभोग गर्ने सामग्रीको उत्पादन मिति, प्रयोग गर्न योग्य मिति लगायतको हेरेर मात्रै खरिद गर्नुपर्ने उहाँको भनाइ छ । उपभोक्ता संरक्षण ऐन र नियमावलीका आधारमा रु. ५० हजार जरिवाना गरिएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालले बताउनुभयो । “अनुगमनका क्रममा धेरै सामग्री म्याद नाघेको भेटिएको थियो, उपभोक्ताको स्वास्थ्यमा असर पार्ने खालका उपभोग्य सामग्री बेच्नु नियमविपरीत हो, त्यसैले कारबाही गरेका छौँ", प्रमुख खनालले भन्नुभयो । शिवकृपा स्टोरका सञ्चालकले जरिवाना बापतको रकम कार्यालयको बैंक खातामा दाखिला गरेको उहाँले बताउनुभयो ।
चाडपर्व नजिकिँदै जाँदा हुन सक्ने कालो बजारी नियन्त्रणका लागि अनुगमनलाई नियमित गरिने प्रशासन कार्यालयले जनाएको छ । उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरि कम गुणस्तर तथा म्याद गुज्रिएका कुनै पनि सामग्री विक्री वितरण नगर्न जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रशासकीय अधिकृत भरत सापकोटाले बताउनुभयो ।