धर्बेन्द्र झा
धनुषा, भदौ ७ गते । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अन्तर्राष्ट्रिय जगतमा खस्किँदै गएको नेपालको साख जोगाउन नेपाली काँग्रेस अग्रसर हुनुपर्ने धारणा राख्नुभएको छ ।
धनुषाको विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबार जनकपुरधाम आउनुभएका नेता कोइरालाले जिल्ला पार्टी कार्यालय धनुषामा पत्रकारसँगको कुराकानीमा सो कुरा बताउनुभएको हो । उहाँले नेपाल भ्रष्टाचार र तस्करीको अखाडा बन्दैगएको र यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख खस्किएकाले त्यसका लागि काँग्रेस अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “विगतमा भएको भुटानी शरणार्थी प्रकरणदेखि सुन काण्डसम्मको घटनाले नेपाल तस्करहरूको अखाडामा बन्दैगएको पुष्टि गर्छ ।” उहाँले तीन महिनामा वर्तमान सरकारको कामकाजको मूल्याङ्कन गर्नु हतारो हुने भए पनि सरकारको कामकाज सन्तोषजनक नरहेको टिप्पणी गर्नुभयो ।
देश सही दिशामा नगएका कारण अर्थतन्त्रसहित अन्य सूचकहरू खतरामा रहेको बताउनुभयो । उहाँले वर्तमान सरकारको धेरै कमी कमजोरी रहेको भन्दै त्यस कमजोरीलाई काँग्रेसले सच्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । काँग्रेसको भातृसंगठनको समानान्तर कमिटी गठन सम्बन्धमा नेता कोइरालाले भातृ सङ्गठनमा नेतृत्वले कमीकमजोरी गरेपछि त्यस्तो परिस्थिति आएको र यसलाई अन्यथा लिनुपर्ने आवश्यकता नभएको बताउनुभयो ।
नेता कोइरालाले आजै कांग्रेसको आन्तरिक विशेष अभियान अन्तर्गत जनकपुरधाम नगर कार्यसमितिले आयोजना गरेको कार्यक्रममा समेत सहभागी हुनुभयो । सो अवसरमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै अगामी निर्वाचनमा कांग्रेस एक्लै जाने भएकाले अहिले देखि नै सङ्गठनलाई एकजुट बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव, प्रदेशसभा सदस्य रामसरोज यादव, पूर्व सांसद मिनाक्षी झा, काँग्रेसका केन्द्रीय सदस्य चन्द्रमोहन यादव, काँग्रेसका जिल्ला सभापति योगेन्द्र पञ्जियार, उपसभापति गणेश झासहितका नेताको सहभागिता थियो ।