• १३ असोज २०८१, आइतबार

बालश्रम अन्त्यको मूलमन्त्र शिक्षा : मन्त्री यादव

blog

कार्यक्रमका सहभागीहरु । तस्बिरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, भदौ ७ गते । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश यादवले शिक्षा नै बालश्रम अन्त्यको मूलमन्त्र भएको भन्दै शिक्षालाई व्यवस्थित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहीबार आसमान नेपालले आयोजना गरेको बालश्रम अन्त्यका लागि प्रादेशिक पहल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले अनाथ बालबालिका र बालश्रममा लगाइएका बालबालिकाको उद्धारपछि  राख्ने विषयमा प्रदेश सरकारले सरोकारवालासँग छलफल गरेको र चाँडै नै प्रदेशमा बालगृह र अनाथालय निर्माणका काम अघि बढाइने बताउनुभयो । उहाँले एक्लै कसैले पनि बालश्रम अन्त्य गर्न नसक्ने भन्दै बालश्रम अन्त्यका लागि तीनै तहका सरकार, बालबालिकासँग सरोकार राख्ने निकाय र समाजको भूमिका पनि त्यति नै महत्त्वपूर्ण भएको बताउनुभयो । 

उहाँले गरिबी र अशिक्षाका कारण धेरैजसो अभिभावकले पनि आफ्नो छोराछोरीलाई बालश्रममा लगाउने गरिएको भन्दै मजदुर किसानलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दन सिंहले बालश्रम अन्तर्राष्ट्रिय समस्या भएको भन्दै मधेश प्रदेश सरकारले बालश्रममुक्त प्रदेश बनाउन अभियान नै सञ्चालन गरेको बताउनुभयो । उहाँले प्रदेशको श्रम ऐन पारित भएपछि धेरैखालका समस्याहरू समाधान हुनेभएकोले मन्त्रालयले श्रम ऐनको मस्यौदा कानुन मन्त्रालयमा पठाइसकेको र मन्त्री परिषदबाट पारित भएपछि सदनमा जाने बताउनुभयो । 

कार्यक्रममा नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता एवम् पूर्वमन्त्री सरोजकुमार यादवले ठुला व्यक्तिको घरमै बालश्रम गराइरहेको सहजै देखिनसकिने भन्दै बालश्रमको अन्त्यका लागि आफैबाट सुरुवात गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा लोसपा संसदीय दल मधेश प्रदेशका नेता एव पूर्वमन्त्री अभिराम शर्माले मधेश प्रदेश सरकारले आफ्नो इन्डेक्स निर्माण गरी योजनाबद्ध तवरले काम गर्न जरुरी भएको बताउनुभयो । 

कार्यक्रममा जसपाका प्रदेशसभा सदस्य रामअशिष यादवले शिक्षामा लगानी गर्नुपर्ने भन्दै सामुदायिक विद्यालयलाई सुधार गरेमा मात्र बालश्रमलाई अन्त्य गर्न सक्ने बताउनुभयो । आसमान नेपालका कार्यक्रम प्रमुख दिनेश्वर साहको अध्यक्षतामा भएको कार्यक्रममा एमाले संसदीय दलका उपनेता दिपेन्द्र ठाकुर, एमालेकै प्रदेशसभा सदस्य हरिनारायण महतो, लोसपाका प्रदेशसभा सदस्य जैनुल राईन, प्रदेशसभा सदस्य कन्चन बिच्छासहितले आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा आसमान नेपालका कार्यक्रम व्यवस्थापक मनिराम आचार्य र श्रम तथा यातायात कार्यालय जनकपुरका प्रमुख धर्मराज रोकायाले छुट्टाछुट्टै दुई वटा कार्यपत्र प्रस्तुत गर्नुभएको आसमान नेपालका कार्यक्रम संयोजक दिपेन्द्र तिवारीले जानकारी दिनुभयो । कार्यक्रममा मधेश प्रदेशमा १ लाख ७२ हजार बालबालिका बालश्रममा रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।