• २१ वैशाख २०८१, शुक्रबार

दमकमा मादक पदार्थ बिक्रीवितरणमा रोक

blog

विष्णुप्रसाद पोखरेल
दमक, भदौ ७ गते ।
 दमक नगरपालिकाले सार्वजनिक स्थलको १ सय मिटरमा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा बुधबारदेखि रोक लगाएको छ । यसको कार्यन्वनका लागि अनुगमन पनि सुरु गरिने र अटेर गर्नेलाई कारवाही गरिने सार्वजनिक सूचनामार्फत नगरपालिकाले जानकारी गराएको पाइएको छ ।

दमक नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत यज्ञराज निरौलाका अनुसार शैक्षिक संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय लगायतका आसपासको क्षेत्रमा पनि मादक पदार्थ र सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्नका लागि सचेत गराइएको छ ।

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा १ सय मिटरभित्रको घर पसलबाट मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न रोक लगाइएको उहाँले जानकारी दिनुभयो । सूचनाविपरीत मादक पदार्थ र सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने पनि उहाँले बताउनुभयो ।

यसैगरी, दमक नगरपालिकको शिक्षा शाखाले सबै विद्यालयलाई परिपत्र गर्दै यसको कार्यान्वयन गर्न निर्देशन दिएको छ । यसको कार्यान्वयन गराउन नगरभित्रका सबै सम्बन्धित विद्यालयलाई पत्राचार गर्दै निर्देशन दिएको हो । बजार तथा ग्रामीण क्षेत्रका अधिकांश विद्यालय अगाडि पसलबाट यस प्रकारका सामग्रीहरु बिक्री वितरण हुँदै आएको छ ।

नगरपालिकाको तेह्रौं नगरसभाले पारित गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा भएको व्यवस्था अनुसार आफ्नो विद्यालय रहेको कम्तीमा १ सय मिटरभित्रका घर पसलबाट मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न रोक लगाउने निर्णय भएकाले यसको कार्यान्वयनका लागि विद्यालयहरुलाई परिपत्र गरिएको नगर शिक्षा शाखा प्रमुख प्रवीण खड्काले जनाउनुभयो ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ११ को उप दफा ३ को कार्यन्वयन गर्न आफूहरुले विद्यालयलाई परिपत्र गरेको र अब अनुगमन सुरु गरिने पनि उहाँले जानकारी दिनुभयो । ऐन, कानुनले वर्जित गरेको विषयलाई स्थानीय सरकारले अनुगमन गरेर अटेर गर्नेहरुमाथि कारवाही सुरु गरिने जनाइएको छ ।