• १२ मंसिर २०८१, बुधबार

विकासशील भएपछिका चुनौती

blog

सन् १९७१ मा अति कम विकसित राष्ट्रमा सूचीकृत नेपाललाई संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभाले मध्यम आय भएको विकासशील देशमा स्तरोन्नति गर्ने प्रस्ताव पारित गरेको छ । सङ्घको विकास समितिले सन् २०२६ सम्ममा नेपालसँगै बङ्गलादेश, कम्बोडिया र लायोसलाई पनि विकासशील देशमा स्तरोन्नति गर्ने समय सीमा तोकेको छ । अल्पविकसित देशबाट विकासशील देशमा स्तरोन्नतिका लागि प्रति व्यक्ति आय अमेरिकी डलर १२३० हुनुपर्ने, मानवपुँजी सूचकाङ्क न्यूनतम ६६ अङ्कभन्दा बढी हुनुपर्ने र आर्थिक र वातावरणीय जोखिम सूचाकाङ्कमा ३२ अङ्कभन्दा कम भएको हुनुपर्ने तीन सर्त छन् । 

 स्तरोन्नति हुने अवसरले विश्वमञ्चमा नेपालको प्रतिष्ठा बढ्ने अपेक्षा गरिएको छ । प्रस्तुत सूचकाङ्कमा नेपालले प्रति व्यक्ति आयमा केही कमजोर देखिए पनि मानव पुँजी सूचकाङ्कमा ७४.९ अङ्क प्राप्त गरेकोले ८.९ बढी अङ्क प्राप्त भइसकेको र मानव तथा वातावरणीय जोखिम सूचकाङ्कमा आवश्यक भन्दा ६ अङ्क कम भई घट्दो छ । नेपालले प्रति व्यक्ति आय बढाउन थप प्रयास गर्नुपर्ने देखिन्छ ।

नेपालले स्तरोन्नतिबाट फइदा प्राप्त गर्न आन्तरिक रूपमा धेरै सुधार गर्नुपर्ने हुन्छ । शासकीय व्यवस्था प्रभावकारी बनाउने, आर्थिक विकास गर्न सार्वजनिक निजी साझेदारीमा जोड दिने, आन्तरिक स्रोत साधनको उपयोगिता बढाउने र प्रभावकारी आर्थिक कूटनीतिबाट अवसर बढोत्तरी र चुनौती कम गर्नुपर्ने हुन्छ । स्तरोन्नति पछि आउन सक्ने चुनौतीको सामना गर्न सरकार र निजी क्षेत्रबिच प्रभावकारी समन्वय र सहकार्य गरी आर्थिक कूटनीतिसँगै वैदेशिक सहायता, लगानी र व्यापारका क्षेत्रमा हुन सक्ने अवसरमा विशेष ध्यान दिन आवश्यक छ । प्रस्तुत मुख्य अवसर र चुनौतीका विषयमा विवेचना गर्न खोजिएको छ ।

वैदेशिक सहायता

नेपालले विसं २००७ पछि औपचारिक रूपमा वैदेशिक सहायता प्राप्त गर्दै आएको छ । आन्तरिक स्रोतको अभाव पूर्ति गर्न वैदेशिक सहायताको महत्व बढ्दै गएको पाइन्छ । वैदेशिक सहायतामा अनुदान र सहुलियत ऋणको अंश रहन्छ । यस्तो सुविधा कम विकसित राष्ट्रले मात्र पाउने र केही सहायता मित्रदेश र अन्तर्राष्ट्रिय संस्थाबाट पनि प्राप्त हुन्छ । कतिपय सहयोग बाध्यकारी हुन्छन् भने केही स्वार्थप्रेरित । नेपालको वैदेशिक सहायताका लागि पेरिस सम्मेलन अघि र पछि भएका प्रयत्नको प्रभावकारिता अध्ययन गर्नु पर्ने हुन्छ । नेपालले पछिल्ला दिनमा बजेट खर्च गर्न नसकेको र अनुदानको अंश घट्दो अवस्था छ । नेपालका मुख्य दाता संयुक्त राष्ट्र  सङ्घ, ओइसिडी मुलुक, ग्लोबल फन्ड, अन्तर्राष्ट्रिय वित्तीय संस्था र छिमेकी मित्रदेशबाट गरिबी निवारण, मानव विकास र प्राथमिकता प्राप्त आयोजनामा सहायता प्राप्त भइ उपयोग हुँदै आएको छ । स्तरोन्नति पछि नेपालले पाउँदै आएको ऋणको चुक्ता गर्ने समय, ब्याजदर र ग्रेस समयमा परिवर्तन भई ऋणको भार बढ्ने र वैदेशिक सहायताको दाबेदारी क्र

मशः कम हुँदै जाने छ । बालबालिकाले लगाउने खोप देखि जनशक्ति विकासका लागि प्राप्त हुने छात्रवृत्ति एवं मानव कल्याणका प्राथमिकता प्राप्त आयोजनामा हुने वित्तीय सहयोगमा कमी हुँदा विकास र सेवा प्रवाहमा प्रत्यक्ष चुनौती आउन सक्छ । स्वार्थप्रेरित सहयोगको भने निरन्तरता हुन सक्ने तर प्राथमिकता प्राप्त सहायता पाउने अधिकार क्रमशः कटौती हुन सक्छ ।

वैदेशिक लगानी 

गत आवमा ३३ अर्ब १४ करोड वैदेशिक लगानीको प्रस्ताव आएको लगानीका स्रोतको प्रतिबद्धता आए पनि कार्यान्वयन अवस्था नाजुक नै छ । वैदेशिक लगानीका लागि आन्तरिक अवस्था लगानी मैत्री छैन भन्ने गुनासो बढी नै छ । वैदेशिक लगानी आकर्षित गर्न नीतिगत, संरचनागत सुधारसँगै कूटनीतिक प्रयासको प्रभावकारिता महत्वपूर्ण हुन्छ । नेपालको कमजोर शासकीय क्षमताका कारण वैदेशिक लगानीको प्रतिफल प्राप्त हुन नसकेको अवस्था छ । यस्तो स्थितिमा विकासशील देशमा स्तरोन्नति पछि लगानी भित्रिने अवस्था के हुने भन्ने विषय विचारणीय छ । स्तरोन्नति पछि नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढ्ने हुँदा विदेशी लगानी सिद्धान्तत बढ्नु पर्ने हो । देशको अवस्था सुध्रिएको, शासकीय व्यवस्थामा प्रभावकारिता बढेको र आर्थिक जोखिम कम हुँदा अवसर वृद्धि हुने सन्देशले विदेशी लगानी बढ्नु पर्ने तर विदेशी लगानी आकर्षित गर्न आन्तरिक प्रणालीमा धेरै सुधार गर्नै पर्ने हुन्छ । 

लगानीकर्ताले लगानीको अवसरसहित उपयुक्त वातावरण र प्राप्त हुने प्रतिफलको सुनिश्चितता खोजेको हुन्छ भने विदेशी लगानी भित्र्याइ रोजगारी र उत्पादन बढाउने र अरू क्षेत्रमा परेको असरको परिपूरण गर्न आन्तरिक स्रोतको बढोत्तरी गर्नुपर्ने बाध्यता छ । वैदेशिक लगानीको दिगोपनाका लागि नीतिगत र संरचनागत सुधार हित लगानीका क्षेत्रको पहिचान गरी परियोजना बैङ्कमार्फत सम्भाव्य परियोजना कार्यान्वयन गर्न एकद्वार सेवा प्रवाहमा जोड दिनुपर्ने हुन्छ । नेपालले विश्व व्यापार सङ्गठनसँग गरेको प्रतिबद्धता अनुसार सेवा र उत्पादन क्षेत्रमा लगानीमैत्री वातावरण बनाइ विश्वको ध्यान आकर्षित गर्न अति आवश्यक छ ।

वैदेशिक व्यापार 

नेपाल अल्पविकसित देश भएका कारण युरोपियन देशमा जिएसपी डेरोगेसन अन्तर्गत हातहतियार बाहेक अरू उत्पादित वस्तु र अमेरिका, क्यानडासहित केही देशमा वस्तुको निर्यात गर्न भन्सार छुट सुविधा छ । छिमेकी मित्रराष्ट्र भारत र चीनले पनि केही वस्तुमा भन्सार छुटको सुविधा भएका कारण नेपालबाट गलैँचा, तयारी पोसाक, हस्तकला, जडीबुटी, खाने तेललगायतका वस्तु निर्यात हुने गरेका छन् । नेपाल विश्व व्यापार सङ्गठनको सदस्य पछि निर्यात सुविधा कटौती भएको र सदस्य राष्ट्रबिच अति सौबिद्ध राष्ट्रको सुविधा उपयोग गर्न पाउने प्रावधान अनुसार केही राष्ट्रले नेपालको आर्थिक अवस्था सुधार गर्न निर्यात सुविधा दिएको तर नेपालले उक्त सुविधाको उपयोग गर्न सक्षमता देखाउन सकेन र क्र

मशः व्यापार घाटा बढ्दै गयो । नेपाल विकासशील देशमा स्तरोन्नति भएपछि हाल पाइरहेको वैदेशिक व्यापारको सुविधा के हुन्छ भन्ने उत्सुकता बढ्नु स्वाभाविक हो । स्तरोउन्नति पछि लगभग चार प्रतिशत निर्यात व्यापारमा गिरावट हुने अनुमान छ । नेपाली उत्पादनको भन्सार छुट नहुँदा मूल्य बढ्ने, व्यापार सुविधा गुम्ने, प्रतिस्प्रर्धात्मक क्षमतामा ह्रास आउने र निर्यातमा कमी हुने चुनौती रहने छन् । व्यापार क्षेत्रको दिगोपनाका लागि कही समय भन्सार छुट सुविधा निरन्तरता दिन र लागत प्रभावकारी हुने मुख्य उत्पादित वस्तुको पहिचान गरी विश्व बजारमा सहज प्रवेश हुने अवसर बढाउनु पर्छ । व्यापार माग र आपूर्तिसँग सम्बन्धित हुने हुँदा सम्भावना भएका वस्तु र सेवाको मागको आकलन, लागत प्रभावकारी र बढी मूल्य तथा कम तौल भएका वस्तु उत्पादन गरी आपूर्ति सहजीकरणबाट व्यापारमा बढोत्तरी गर्न सकिन्छ ।

आर्थिक कूटनीतिको प्रभाव

छिमेकी देशसँग भएको द्विपक्षीय व्यापार सम्झौताको प्रभावकारिता बढाउने, अति सौबिद्ध प्राप्त राष्टको सुविधाबाट निर्यात बढाउने र विदेशी सहायता केही समय निरन्तरता हुन आजैदेखि कूटनीतिक पहल हुनुपर्ने देखिन्छ । स्तरोन्नति पछि आन्तरिक अवस्था सुधार र बाह्यक्षेत्रसँग असल सम्बन्ध बढाउनु पर्ने दबाब रहेकाले कूटनीति सक्रियता बढाउनु पर्ने हुन्छ । वैदेशिक लगानी बढाइ रोजगारी र उत्पादन वृद्धि एवं आन्तरिक स्रोत बढाउन मित्रदेश र विश्वमञ्चसँग असल सम्बन्धमा जोड दिन आवश्यक छ । बहुपक्षीय, द्विपक्षीय र संस्थागत सम्बन्धले स्तर वृद्धि पछिका अप्ठ्यारा पक्षलाई सरलीकृत गर्न सहजता प्राप्त गर्न सकिन्छ । अन्तर्राष्ट्रिय सम्बन्धबाट समधुरता बढाइ सफलता हासिल गर्न उपयुक्त रणनीतिको आवश्यकता छ । दिगो विकास लक्ष्य प्राप्त गर्न विश्व साझेदारी बढाउने र जलवायु परिवर्तनको असरको परिपूरण गर्न बाध्यकारी र अधिकारपूर्ण सहयोगका लागि आर्थिक कूटनीति प्रभावकारी बनाउन आवश्यक छ । 

अन्त्यमा

विकासशील राष्ट्रमा स्तर बढ्नु राम्रो पक्ष हो । स्तर वृद्धिपछिका चुनौतीका बारेमा हामी जानकार भई होसियारी हुनु पर्छ । सरकारले आर्थिक अवसर बढोत्तरी हुने वातावरण बनाउने र निजी क्षेत्रले सक्रियता देखाउने हो । स्तरोन्नति पछि वैदेशिक सहायतामा हुन सक्ने कमीको आकलन गरी त्यसको परिपूरण गर्न बेलैमा शासकीय प्रखरताको खाँचो रहेको छ भने वैदेशिक लगानी र निर्यात व्यापार वृद्धि गर्न नीतिगत र संरचनागत सुधारको आवश्यकता देखिन्छ । वैदेशिक सहायताको घट्दो अवस्था, बढ्दो वैदेशिक व्यापार घाटा र लगानी आकर्षण गर्न नसकिएको स्थितिमा रूपान्तरणकारी मार्गचित्रसहित अघि बढ्नुको विकल्प छैन । सरकार र निजी क्षेत्रले संयुक्त रूपमा चुनौतीको आकलन गरी उपयुक्त कार्यदिशासहित अघि बढ्नु पर्छ । स्तरोन्नति पछि अवसरको बढोत्तरीसँगै दिगोपना र चुनौतीलाई साँघुरो बनाउन शासकीय चातुर्यताको खाँचो छ । अन्तर्राष्ट्रिय क्षेत्रमा अवसर बढोत्तरी गर्न कूटनीतिक प्रभावकारिता बढाउनु पर्छ ।