सुदूरपश्चिम प्रान्त जल, जमिन र जङ्गलको धनी क्षेत्र मानिन्छ । प्रत्येक महिना जसो नवीन संस्कृति बोकेको यो प्रान्तमा अहिले पनि कैयौँ संस्कृति ओझेलमा परेका छन् । यहाँको संस्कृति आफैँमा विशाल र मननीय छ, अनुसन्धानयोग्य छ । संस्कृति र सभ्यताका अनुयायीले यसबारे जान्नु जरुरी छ । गौरा पर्व र विसुपर्वका बारे जिज्ञासुले केही जानकारी पाएका छन् । माँगल, भस्सो, हुड्केली, भारत, भारीखेल, रनपुतला चाँभाई आदिका बारे जानकारी पाएका छैनन् ।
गौरा पर्व केवल ७ नं. प्रदेशको भू–खण्डका बासिन्दाले मात्र मनाउने पर्व नभएर अहिले समग्र राष्ट्रकै मौलिक पर्व मानिन्छ । नारीप्रधान पर्व मानिएकाले शक्ति पूजन पर्व पनि हो गौरा । पृथ्वी देवी हुन्, हरेक शक्ति नारीमा केन्द्रित हुन्छन् । पृथ्वीलाई पनि नारी शक्तिका रूपमा हाम्रा पुर्खाले मानेकाले धरतीबाट उब्जने बीज, वनस्पति र जलधारा पनि शक्तिका स्वरूप हुन् । गौरा पर्व पनि यसैमा निहित रहने भएकाले यो पर्वलाई प्रकृति पूजनका रूपमा लिइन्छ ।
मार्कण्डेय पुराणमा बताए अनुसार हिमालयपुत्री पार्वतीले शिवजीलाई पति पाउनका लागि कठोर रूपमा व्रत बसिन् । निराहार बसेकी पार्वतीको तपस्याबाट खुसी भएर नीलकण्ठ भगवान् शिवजीले शक्तिस्वरूपिणी पार्वतीलाई स्वीकारे । यही मान्यता अनुसार गौरा पर्व पार्वती देवीको सम्झना गर्दै असल वर तथा सुख र समृद्धि प्राप्तिका लागि प्राचीन कालदेखि नारीले मनाउने गर्दछन् । प्रश्न रह्यो, सुदूरपश्चिममा मात्र सीमित गौरा पर्व देशका अन्य भागका नारीले किन मनाउँदैनन् ? जसरी तराईमा मात्र कुनै बेला सीमित छठ पर्व अहिले राजधानीलगायत देशका अन्य भूभागका नरनारीले पनि श्रद्धापूर्वक मनाउँदै आएका छन् । यसको सरल उत्तर छ – शैक्षिक चेतना र व्यापक रूपमा प्रचारप्रसारको कमी ।
कुनै बेला सुदूरपश्चिममा सीमित गौरा पर्व विगत केही वर्षदेखि राजधानीको खुलामञ्चसम्म पुग्यो । राजधानीमा बसोबास गर्ने त्यस क्षेत्रका हजारौँ संस्कृतिकर्मी गौरा पर्व मनाउने दिनमा जम्मा भएर आपसमा शुभकामना आदानप्रदान गर्दै देउडा खेलेर मनाउँदै आएका छन् । तत्कालीन राजाको प्रतिगमन कदमको कार्यकालमा ०६२ सालमा खुलामञ्च काठमाडौँमा मनाउन मनाही गरियो । सो कदमको हामीले घोर विरोध ग¥यौँ । त्यस क्रममा प्रहरीको दमन पनि सहनु परेको थियो । सर्वप्रथम गौरा पर्व राजधानीमा भित्र्याउने श्रेय काठमाडौँ कालिकास्थान निवासी उप्रेती परिवारलाई जान्छ । विगतमा डा. त्रैलोक्यनाथ उप्रेती परिवारले यो पर्व आफ्नै घरमा मनाउँदै आएका थिए ।
यसै गरी प्रतिबन्धित काल २०३५/३६/३७ सालताका सुदूरपश्चिमका राजधानीमा अध्ययनरत त्यस बेलाका विद्यार्थीले राजधानीका डिल्लीबजार, कीर्तिपुर, बाल्मीकि क्याम्पस आदिमा जम्मा भएर देउडा खेल्दै मनाउँदै गरेका थिए । अमेरिका, मलेसिया दक्षिण कोरिया, जापान, अस्ट्रेलिया खाडी मुलुक र भारतमा बसोबास गर्ने हजारौँ सुदूरपश्चिमवासी गौरा पर्वमा देउडा खेलेर शुभकामना आदानप्रदान गर्छन् ।
बीज र वनस्पति पूजनको पर्व हो गौरा । तिथिका हिसाबले यो पर्व कहिले भाद्र महिनाको शुक्लपक्षमा पर्छ त कहिले कृष्णपक्षमा । शुक्लपक्षमा पर्ने गौरालाई उज्याली, कृष्णपक्षमा पर्ने गौरालाई अँध्यारी गौरा भनिन्छ । पहिलो पटक व्रत बस्ने महिलाले शुक्लपक्षमा व्रत लिए शुभ हुन्छ भन्ने मान्यता छ । गौरा पर्वको महìवपूर्ण दिन भनेको अष्टमी तिथि हो । जसलाई गौरा अष्टमी भनिन्छ ।
गौरा पर्व कसरी गाउँमा भित्र्याउने ? यसबारे ठाउँठाउँमा फरक फरक तरिका छन् । बझाङ, बाजुरा, हुम्ला जिल्लामा पञ्चमी तिथिको दिनमा गाउँको नायक या गौरा पुजारीले गाउँभन्दा टाढा पवित्र र एकान्त ठाउँमा पाँच वटा वनस्पति मिलाएर मूर्ति बनाउँछन् । ती पाँच वनस्पतिमा – कुश, कास, तितेपाती, सौँ र दुबो या तिलको बोट हुन् । यी पाचथरी वनस्पतिको मूर्ति बनाएर बाजागाजासहित डोलामा राखेर गाउँको गौराघरमा भित्र्याइन्छ । यसरी भित्र्याइएका गौराको व्रतालु महिला र भक्तजनले पाँच/छ दिनसम्म श्रद्धापूर्वक पूजा गर्दछन् ।
गौरादेवी साक्षात् पार्वती भगवतीको शक्ति स्वरूप हुन् । यी देवी अति चोखो मन पराउने र छिपिली पनि हुन् । प्रतिदिन दुध र फलफूलले पूजा गरिन्छ । गौरादेवीको महत्वपूर्ण प्रसाद भनेको बिरुणा हो । ‘बिरुणा’ पञ्च अन्नबाट बनाइन्छ । गहत, केराउ (कला) मस्याङ, गुराँस र गहुँ मिसाएर बिरुणा बनाइन्छ । पञ्चमी तिथिमा तामाको भाँडोमा शुद्ध जलले भिजाएका बिरुणा, प्रतिदिन देवीलाई चढाइन्छ । देवीको मुख्य प्रसाद नै बिरुणा भएकाले सबैले श्रद्धापूर्वक बिरुणा ग्रहण गर्ने गर्दछन् । प्रदेशमा गएका आफ्ना सन्तानको सुख समृद्धिका लागि भनेर भ्याएसम्म प्रसादका रूपमा बिरुणा पठाउने प्रचलन अहिलेसम्म कायम छ ।
गौरा भिœयाएपछि गाउँमा पवित्रतामा निकै होसियारी अपनाइन्छ । कदाचित जुठो सुत्केरो परेमा चोखो नहुन्जेलसम्म गौरामातालाई बिदाइ गरिन्न, पाठपूजा पनि गरिन्न । देवीको कृपाले अहिलेसम्म त्यस्ता अप्रिय घटना भएका छैनन् । गौरामाता विसर्जन गर्ने दिन नरमाइलो हुन्छ । जसरी छोरीबेटीको बिहे गर्दा बिदाइको बेला करुणामय गीत गुन्जिने गर्छन्, गौरा सेलाउने दिनमा चेलीबेटी र मागल (माङ्गलिक गीत, फाग) गाउने मङ्गल्यारी यसरी नैं आँखाबाट आँसु झार्दै माँगल गाउने गर्दछन् ।
गौराघरबाट डोलीमा राखेर गाउँबाट अर्को वर्षसम्मका लागि बिदाइ गरिन्छ । छ–सात दिनसम्म श्रद्धापूर्वक देवीलाई चढाएका नानाथरी फलफूल च्यादरमा राखेर आकाशतिर उफारिन्छ । जसले जे हात पा¥यो, आ–आफ्नो भाग्यको चमत्कार सम्झन्छन् भक्तजन । यसरी बिदाइ गरिएकी देवीलाई सकभर पानीको मुहान भएको रुखको हाँगोमा सेलाउने गरिन्छ । सुदूरका धेरै जिल्लामा आ–आफ्नो रित अनुसार गौरा भित्र्याइने पूजा गर्ने र बिदाइ गर्ने परम्परा छ ।
दार्चुला, बैतडी र डडेलधुरामा गौरामातालाई डालोमा राखेर पूजा गरिन्छ र टाउकोमा राखेर नचाउने गर्दछन् । बझाङ तलकोट गाउँपालिका अन्तर्गत कोटकी गौरा जिल्लाभरि नै प्रख्यात छन् । कोटकी गौराको बेला पुरुष वर्गले राधाकृष्ण, सीताराम र शिवपार्वतीका जीवनीमा आधारित फाग कलात्मक तवरले गाउने र नाँच्ने प्रचलन प्रख्यात छ ।
देउडा खेल गौरा पर्वको अर्को आकर्षण हो । व्रतालु महिलाले देवीका फाग गाउँछन् तर पुरुषले भने डेढी कदम चालेर देउडा खेल खेल्ने गर्दछन् । देउडा, गौरा पर्वसँग जोडिएको सुदूरपश्चिमको अभिन्न संस्कृति बनिसकेको छ । यति बेला यो संस्कृतिले सबैमा आत्मीयता बोध गराएको छ । नेपालको आदिम संस्कृतिको स्वरूप मेची–महाकालीसम्म कता कता मिलेको जस्तो देखिन्छ ।
पूर्वमा किराँत राईहरूले मनाउने उभौली–उधौली पर्वमा प्रकृतिको पूजा गरिसकेपछि उनीहरू झ्याम्टा, मादल बजाएर साकेला नृत्यमा रमाउँछन् । शेर्पा जाति आफ्नो पर्वमा सेब्रोमा झुम्मिन्छन् । सेब्रो नाच कताकता देउडा संस्कृतिको बान्कीसँग मेल खाए जस्तो पनि देखिन्छ हातमा हात, गोडामा गोडाको पाइला मिलाउँदा । सानो मुलुक भएर पनि अनौठो खालको मौलिकपन भेटिन्छ हाम्रो देशको प्राचिन संस्कृतिमा ।
गौरा पर्व कहिले आउँछ भनेर सुदूरपश्चिमवासी हातका औँला गनेर बसेका छन् यति बेला । गौरा, देशभित्र र बाहिर रहेका सुदूरपश्चिमवासीको महìवपूर्ण पर्व भएकाले नयाँ लुगा लगाउने, मिठो खाने प्रचलन छ । साथै सांस्कृतिक कार्यक्रम गर्ने, समूह समूह बनाएर देउडा खेल खेल्ने गर्छन् । कता कता तिज पर्व जस्तो लागे पनि गौराको विधि, विधान र शैली फरक छ । राजधानीमा रहेका सुदूरपश्चिम र कर्णाली प्रदेशका महिला विगत वर्षदेखि कोटेश्वर महादेव स्थानमा जम्मा भएर गौरा पर्वको विधि अपन्याएर पूजा गरिरहेछन् । यो पर्वको सबैमा हार्दिक शुभकामना छ ।