काठमाडौं, भदौ ६ गते । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौँ र नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जले संयुक्त रूपमा प्रहरी एकेडेमी मैदानमा शनिबार ‘आऊ खेल खेलौँ’ नामक खेलकुद दिवस आयोजना गर्दैछ ।
‘समावेशी र तन्दुरुस्त समाजको लागि एक माध्यमको रूपमा खेलकुद’ भन्ने नाराको साथ यो कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा नेपाल र भारत दुवै देशका परम्परागत खेल खो–खो, कबड्डी, पाण्ढुंगे (सटोलिया), रुमाल लुकाई र टग अफ वार (तान डोरी) खेलाइनेछ ।
यी खेलहरूमा विभिन्न नौ विद्यालयका ७ देखि १२ कक्षासम्मका एक सय २० भन्दा बढी विद्यार्थीहरू, केही खेलकुद सेलिब्रेटीहरू, खेलप्रेमी, नेपाल प्रहरीको टोली तथा भारतीय राजदूतावासका टोलीहरूले ठुलो उत्साहका साथ भाग लिनेछन् ।
कार्यक्रममा नेपाल प्रहरी र भारतीय राजदूतावास काठमाडौँका उच्च पदस्थ अधिकारीहरूका साथै खेल क्षेत्रका गन्यमान्यहरूको उपस्थिति रहनेछ । नेपाल तथा भारतमा खेलिने मौलिक एवं परम्परागत खेलकुदको जगेर्ना गर्दै नयाँ पुस्तालाई यी खेलहरूबारे अभ्यस्त गराउन भारतीय दूतावास, काठमाडौँ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जले पहिलो पटक आयोजना गर्न लागेको यो कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।