काठमाडौं, भदौ ६ गते । राजर्षि गुरुकुल स्कुलको आयोजनामा बुधबारदेखि सुरु भएको आरजी इन्टर स्कुल फुटसल प्रतियोगितामा लर्निङ जोन एकेडेमीले दोहोरो जित हात पारेको छ ।
सल्लाघारीस्थित स्कुलको आफ्नै फुटसल कोर्टमा भएको प्रतियोगितामा समूह ‘बी’ मा रहेको लर्निङ जोनले मोर्डन बोर्डिङ हाइअर सेकेण्डरी स्कुललाई ३–१ ले र काठमाडौँ गुरुकुललाई ६–० ले पराजित गरेको हो ।
अन्य खेलमा समूह ‘बी’मा प्यारागन पब्लिक स्कुल र काठमाडौँ गुरुकुलले एक एक खेल जितेर्का छन् । प्यारागनले युनाइटेड युनिभर्सल स्कुललाई १–० ले हराउँदा काठमाडौँ गुरुकुलले मोर्डन बोर्ड हाइअर सेकेण्डरी स्कुललाई ४–२ ले हरायो ।
काठमाडौँ गुरुकुलले तीन खेलमा एक खेल जित्दा प्यारागनले दुई खेलमा एक खेल जितेको हो । मोर्डन बोर्डिङ स्कुलले भने तीनवटै खेलमा हार खेप्यो । यस्तै समूह ‘ए’ अन्तर्गत पहिलो दिन ग्लोबल पब्लिक स्कुल, काव्य स्कुल, अक्षरा स्कुल र रातो बङ्गला स्कुलले समान एक खेल जितेका छन् ।
ग्लोबल पब्लिक स्कुलले सूर्य विनायक स्कुललाई १–० ले हरायो । अर्को खेलमा भने ग्लोबल पब्लिक स्कुल अक्षरा स्कुलसँग २–१ ले पराजित भयो । यस्तै ग्लोबल र काव्यबीचको खेल गोलरहित बराबरीमा सकियो ।
यसैगरी काव्य स्कुलले सूर्य विनायक स्कुललाई २–१ ले हरायो । काव्य स्कुल रातो बङ्गला स्कुलसँग २–० ले पराजित भयो । पहिलो दिन अपराजित रहेका अक्षरा र रातो बङ्गलाले गोलरहित बराबरी खेले । सूर्य विनायक स्कुल दुवै खेलमा पराजित भयो ।
प्रतियोगिताको नेपाली राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेत र विद्यालयका संस्थापक अध्यक्ष राजेश चौधरीले उद्घाटन गर्नुभयो ।