• ११ असोज २०८१, शुक्रबार

विशेषज्ञ चिकित्सकविहीन छ जिल्ला अस्पताल

blog

स्वास्थ्य सेवा कार्यालय दैलेख । तस्बिर : रजनी योगी

रजनी योगी

सुर्खेत, भदौ ६ गते । स्वास्थ्य सेवा कार्यालय दैलेखमा ६१ जना स्थायी कर्मचारीको दरबन्दी छ । तर अहिले ४० जना मात्रै कार्यरत छन्, २१ जनाको दरबन्दी रिक्त छ । त्यसैगरी नौ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा दरबन्दीअनुसार एक जना पनि विशेषज्ञ चिकित्सक छैनन् । 

जिल्लास्थित प्रमुख स्वास्थ्य संस्था (अस्पताल) रहेको कार्यालयले वर्षौँदेखि जनशक्ति अभाव झेलिरहेको हो । आवश्यक जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावकारी हुन सकेको छैन । नियमित स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको कार्यालयका प्रमुख डा. धर्मराज रेग्मीले बताउनुभयो । 

‘जनशक्ति नै कम छ’ उहाँले भन्नुभयो, ‘कुनैबेला कसैले बिदामा बसिदियो भने आवश्यक पर्ने सेवा दिन कठिन हुनेगरेको छ ।’ स्थायी दरबन्दीमा पदपूर्ति नभएपछि करारमा कर्मचारी नियुक्त गरिएको छ । करार कर्मचारीको सङ्ख्या भने स्थायीको भन्दा धेरै छ । रेग्मीका अनुसार स्थायी ४० जना र करार सेवाका ५६ जना कर्मचारी छन् ।

विशेष स्वास्थ्य सेवा दिन भने दक्ष जनशक्तिको अपुग छ । हाल अक्सिजन प्लान्ट, विशेषज्ञ सेवा, ओटी सेवाजस्ता सम्पूर्ण सेवाका लागि जनशक्ति अभाव देखिएको छ । कार्यालयबाट विशेषज्ञ सेवा ठप्पजस्तै छ । जनशक्ति अभावले अप्रेसन, पोष्टमार्टम, शल्यक्रिया लगायतको सेवामा असर पुगेको छ । त्यस्तै, जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि जनशक्ति अभाव रहेको छ ।

आइसियु र भेन्टिलेटर प्रयोगविहीन

कार्यालयमा चार वर्षअघि खरिद गरिएको आइसियु र भेन्टिलेटर हालसम्म प्रयोगमा आएका छैनन् । अहिलेको जनशक्तिले भेन्टिलेटर सञ्चालन गर्न सक्ने अवस्था नरहेको कार्यालय प्रमुख डा. रेग्मीको भनाइ छ । अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा आइसियु र भेन्टिलेटरको सेवा दिनसमेत नसकिएको उहाँले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण फैलिएको समयमा जटिल खालका बिरामीको उपचार गर्ने भन्दै अस्पतालमा आइसियु र भेन्टिलेटर कक्ष जडान गरिएको थियो । तर हालसम्म पनि आइसियु र भेन्टिलेटर सञ्चालनमा आउन सकेका छैनन्, प्रयोग नभएर थन्क्याइएको छ । कार्यालयका प्रमुख रेग्मीले भइरहेको जनशक्तिले आइसियु र भेन्टिलेटर सञ्चालनमा ल्याउन नसक्ने बताउनुभयो । उहाँका अनुसार ‘स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचारमा आउने अधिकांश बिरामीहरू श्वासप्रश्वासको समस्याका हुन्छन्, हामीसँग भएको अक्सिजनको माध्यमबाट उपचार त गर्छौँ, तर बचाउन निकै समस्या छ ।’ बरु जटिल समस्या देखिएका बिरामीलाई उपचारका लागि बाह्य जिल्लामा जानुपर्ने बाध्यता छ ।

जनशक्तिको अभाव कतिसम्म छ भने अस्पताल हाल कार्यरत रहेका नौ जना मेडिकल अधिकृत (डाक्टर) मध्ये दुई जना मात्रै स्थायी रहेका छन् । अन्य सात जना मेडिकल अधिकृत (डाक्टर) छात्रवृद्धि करार र दरबन्दी करारका रहेको प्रमुख डा. रेग्मीले बताउनुभयो ।

पूर्वाधारको पनि अभाव

एकातिर जनशक्ति अभावका कारण समस्या झेलिरहेको अस्पताल भौतिक पूर्वाधारमा पनि कमजोर छ । भवनकै समस्या छ । वि.सं. २०४५ मा बनेको पुरानो भवनबाट अस्पतालले सेवा दिइरहेको छ । सेवाग्राहीको चाप हुँदा उक्त भवनबाट सहजरूपमा सेवा प्रदान गर्न कठिनाइ भएको कार्यालय प्रमुख डा. रेग्मीले बताउनुभयो । 

पछिल्लो समय बिरामीको चाप पनि बढेको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भए यता अस्पतालमा थप बिरामीको चाप बढेको छ । बिरामीको चापसँगै विभिन्न नयाँ उपचार सेवासमेत थप्दै जानुपर्दा भवन साँघुरो हुँदैगएको रेग्मीले जानकारी दिनुभयो । 

नयाँ भौतिक संरचना थप्नुपर्नेमा ३५ वर्ष पुरानो कार्यालयबाटै सेवा दिनु आफैमा मुस्किल भएको उहाँले बताउनुभयो । ‘पहिले सेवाग्राहीको चाप कम थियो, हाल सेवाग्राहीको सङ्ख्या बढ्दो छ । अस्पतालमा नयाँ–नयाँ रोगको उपचारका लागि सेवा थपिँदै गएका छन् । तर भवनको संरचना उस्तै छ, यसबाट सहज रूपमा सेवा प्रदान गर्न निकै गाह्रो परिरहेको छ’ रेग्मीले भन्नुभयो ।

अस्पतालमा दैनिक सरदर दुईसय बिरामी उपचारका लागि आउनेगरेका छन् । साँघुरो भवनबाट सेवा दिँदा एकै स्थानमा भीड धेरै देखिनेगरेको छ । १५ शय्याको अस्पताललाई स्तरोन्नति गर्ने योजना भने अघि सारिएको छ । ५० शय्याको बनाउने गरी तीन वटा भवन निर्माणको क्रममा रहेका छन् ।