• ६ जेठ २०८१, आइतबार

इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापना गरिने

blog

चिया र अलैंचीका लागि जग्गाको निरीक्षण गर्नुहुँदै राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमका प्रमुख डा. हिमाल तिम्सिनासहित इलाम नगरपालिकाका एक टोली । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी
पशुपतिनगर(इलाम), भदौ ६ गते ।
चिया र अलैंची खेतीका लागि कहलिएको इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्रलाई चिया र अलैंची उत्पादन हुने स्थानमा स्थापना गर्न जग्गा प्राप्तिसँगै कार्यालय स्थापनाको काम सुरु गर्न लागिएको हो ।

अनुसन्धान केन्द्रका लागि इलाम नगरपालिका– १ स्थित साँखेजुङमा ४२ रोपनी जग्गा व्यवस्थापन गरी कार्यालय निर्माणका लागि जग्गा सम्याउने काम भइसकेको इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले जानकारी दिनुभयो ।

कार्यालय भवन निर्माणका लागि यो वर्ष दुई करोड ३८ लाख रुपियाँ बजेट छुट्याएको छ । उक्त रकमले जग्गामा कम्पाउण्डका लागि तारबार र कार्यालय भवन निर्माण गरिनेछ । नगर प्रमुख थापाका अनुसार अब ५२ रोपनी जग्गा अनुसन्धान केन्द्रका लागि दाताले उपलब्ध गराउने कार्य भइरहेको छ । आगामी कात्तिक महिनासम्ममा उक्त जग्गा केन्द्रका नाममा आइसक्ने बताइएको छ ।

इलाममा स्थापना गर्न लागिएको उक्त केन्द्रले चिया र अलैंचीको क्षेत्रमा अनुसन्धान गर्नेछ । सूर्योदय नगरपालिकास्थित पान्दाममा रहेको अलैंची विकास केन्द्रले अलैंची विस्तारको काम गर्दै आएको छ । स्थापना गरीने अनुसन्धान कार्यालयले अनुसन्धानको काम मात्र गर्ने धनकुटास्थित राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमका प्रमुख डा. हिमाल तिम्सिनाले जानकारी दिनुभयो । डा.तिम्सिनाले भन्नुभयो, ‘‘नेपाली चियाको जात छैन,पहिले जातको पहिचान गर्छौं ।’’

उहाँले नेपाली अलैंचीको पाँच वटा जात दर्ता भएको जानकारी दिँदै अन्य जातको अनुसन्धान हुनै बाँकी रहेको बताउनुभयो । तिम्सिनासहित इलाम नगरपालिकाको एक टोलीले साँखेजुङस्थित अनुसन्धान केन्द्रका लागि व्यवस्थापन गरिएको जग्गाको निरीक्षण गर्नुभएको छ । चिया र अलैंचीका लागि इलाम महत्त्वपूर्ण रहेकाले अनुसन्धान केन्द्र इलाममै स्थापना हुँदा नेपाली चिया र अलैंचीका लागि अध्ययन, अवलोकन र अनुसन्धान गर्नेलाई समेत सहज हुने बताइएको छ ।