अचेल समाज परिवर्तनका नाममा आफ्नो काम गर्ने संस्कार पनि परिवर्तन हुन थालेको छ । आफ्नो काम आफैँ गर्दा सानो भइन्छ कि भन्ने आडम्बरभित्र समाज घेरिएको जस्तो आभास हुन थालेको छ । भाषण, मन्तव्य तथा विश्लेषण ठुल्ठुलो तहकाले गर्ने तर सानो पनि काम नगर्ने पद्धतिको अभ्यास समाजभित्र भइरहेको छ । जसको कारणले समाजले मुलुकको आर्थिक विकासमा दिनुपर्ने योगदानमा असर परिरहेको छ । पछिल्ला दिनमा नेपाली समाज अति सामान्य काम कुरामा समेत परनिर्भर बन्दै गएको छ । नीतिनिर्माण तहमा बसेका अधिकारीदेखि राजनेताले कुरा गर्दा मुलुकलाई समृद्ध बनाउने, उत्पादन बढाउने र निर्यात गर्दै मुलुकको व्यापार घाटा कम गर्नेलगायत गम्भीर र महत्वपूर्ण कुरा गरेको सुन्ने गरेका छौँ तर यथार्थमा हाम्रै वरपरको सुन फल्ने जमिन वर्षौंदेखि बाँझै रहेको छ ।
मुलुकको शिक्षा नीति धेरै पटक परिमार्जन र संशोधन हुँदै आएको छ । मुलुकको आन्तरिक व्यवस्था र विश्वपरिदृश्यलाई ध्यान दिएर निर्माण गरिएको हाम्रो शिक्षा प्रणाली अझै व्यावसायिक बन्न सकेको छैन । एकातिर पढेका शिक्षित जनशक्तिले कृषिको काम गर्नै हुन्न, कुटो–कोदालो छुनै हुन्न भन्ने खालको भाष्य हरेक गाउँठाउँमा स्थापित हुँदै जाँदा बेरोजगारसको सङ्ख्या बढ्दै गएको छ । उत्पादन घट्दै गएको छ, दिनप्रतिदिन परनिर्भरता बढ्दै गएको छ ।
हाम्रो समाजमा केही वर्ष पहिलासम्म सबै मिलेर काम गर्ने चलन थियो । मिलेरै बाटोघाटो सफा गर्ने, अर्मपर्म गरेर जग्गा जमिन खनीकुटी गरेर जतिसक्दो उत्पादन लिने ध्याउन्न हुन्थ्यो । कुलो खन्ने काममा हरेक घरबाट उपस्थित हुने चलन थियो, सरकारको बजेट मुख ताक्नु पर्दैनथ्यो । सबै मिलेर गर्दा लाखौँ रुपियाँमा हुने काम केही दिनमै गाउँलेले सम्पन्न गर्थे तर अहिले त्यो अवस्था देखिँदैन ।
गाउँबस्ती मानवविहीन हुन थालेका छन् । भएको खेतबारी वन जडमा परिणत हुँदै बाँदरको राज चलेका समाचार बाहिर आउन थालेका छन् । यो परिदृश्यले मुलुकको उन्नति प्रगति होला भन्ने आशामा शङ्का लाग्न थालेको छ । त्यसैले मुलुकका युवाले यही देशमा केही गर्ने प्रण गर्न जरुरी छ ।
गाउँमा सकभर नबस्ने, बसिहाले पनि दोघरे हुने अनि बजारबाट जङ्क फुड किनेर खाँदा आफूलाई हुनेखाने वर्गमा राख्ने प्रवृत्तिले समेत गाउँमा उत्पादन गर्नेभन्दा किनेर खानेको सङ्ख्या बढ्न थालेको छ । घरआँगन जोड्ने बाटो सफा गर्नसमेत पालिकामा बजेटका लागि धाउने चलन चल्न थालेको छ । अर्मपर्म गर्ने प्रचलन मात्र घटेको छैन, समग्रमा काम गर्ने चलन घट्दै गएको छ । कृषिप्रधान देशमा असली किसानको भकारीभित्र तीन महिनासम्मलाई पुग्ने खाद्यान्न नहुनुलाई कृषिप्रधान देशकै विडम्बनाको रूपमा लिन सकिन्छ ।
कुनै पनि काम आफैँमा सानो र ठुलो भन्ने हुँदैन । उदाहरणका लागि भोक लागेको बेला खाना खानु प्रमुख काम हो भने, तिर्खा लागेको बेला पानी पिउनु प्रमुख हो । हरेक कामको आआफ्नै विशेषता हुन्छ । बस चलाउँदा ड्राइभरको भूमिका महत्वपूर्ण हुन्छ भने प्लेन उडाउँदा पाइलटको भूमिका महत्वपूर्ण हुने गर्छ । यद्यपि हाम्रो समाजले ड्राइभरलाई सानो र पाइलटलाई ठुलो देख्ने गरेको छ । किसानलाई सानो र त्यही किसानको उत्पादन बिक्री गर्ने व्यापारीलाई ठुलो देख्ने चस्मा परिवर्तन नभएसम्म मुलुकको सामाजिक, आर्थिक विकास हुन सक्दैन ।
हामी हरेक दिन झन् बढी अल्छी बन्दै गइरहेका छौँ । टेबल वर्क गर्नेसमेत यसबाट अछुतो रहन सकेका छैनन् । टेबलमा राखिएको बोतलको पानी गिलासमा राख्नलाई घन्टी थिच्छौँ र अर्कोको सहयोग माग्दछौँ । यो तरिका र प्रवृत्तिले समाजलाई कतातिर डो¥याउँदै लगेको छ ?
व्यक्तिको कार्यशैलीले परिवारको उन्नति, प्रगतिमा परिवर्तन आउँछ । परिवारको उन्नति र देखिएको समृद्धिले सामाजिक संरचनामा फेरबदल आउने गर्छ । समाजमा आएको सकारात्मक परिवर्तनले समग्र मुलुकको अवस्थामा फेरबदल आउँछ र मुलुक समृद्धको बाटोतिर डोरिन्छ । त्यसैले मुलुकको प्रगतिको आधार एकाइ भनेको व्यक्तिको आचारण, व्यवहार र मानसिकता हो । हरेक व्यक्तिको प्रगतिदेखि समग्र मुलुकको विकास गर्नका लागि सबैले आफूले जे गर्न सकिन्छ त्यही काम गर्नु पर्दछ ।
सकारात्मक कुरा सानो स्तरबाट सुरु गर्नु पर्छ । सानो अवसरका लागि ठुलाबडाको पछि लाग्ने, उनीहरूको चाकरी गरेरै प्राप्त हुन्छ भन्ने मानसिकता त्याग्न जरुरी छ । आज पनि बिनाकाममा सिंहदरबार छिर्नेहरूको जमात धेरै छ । उनीहरूको काम भनेको नेताहरूको पछि लाग्ने र गफ चुट्ने नै हो । युवा अवस्थामै निगाहा र शक्तिकेन्द्र धाएर जागिर गर्नुभन्दा लोकसेवाको तयारी गरेर आफ्नो करिअर बनाउनतर्फ लाग्नु पर्ने कुरा आज हरेक युवाले मनन गर्न जरुरी छ ।
हुन त पछिल्ला दिनमा महिलामा जागिर खाने क्रम, आत्मनिर्भर हुने क्रम पहिलाभन्दा निकै वृद्धि भएको छ । महिलाले सिंहदरबार छिर्ने र राज्य सञ्चालनका स्थानमा पुग्ने दर अझै बढाउनु पर्ने देखिन्छ ।
नेपाल भौगोलिक विविधताको मुलुक मात्र होइन, अथाह सम्भावना भएको मुलुक पनि हो । ती सम्भावनालाई अध्ययन गरेर मुलुकभित्रै केही गर्न सक्ने सोचका साथ युवा पुस्ताले अघि बढ्नु जरुरी छ । असल कार्यसंस्कृतिको निर्माण गरेर सम्भावनाका पछि दौड्ने अभ्यासलाई सबैले आत्मसात् गर्दै मुलुक र समाजको सुन्दर भविष्यमा योगदान पु¥याउनु आजको आवश्यकता हो । यसका लागि कसैले कसैको मुख नताकी हरेक व्यक्तिले आफूले सक्ने कामको सुरुवात गर्नु पर्छ ।
नेपालको शिक्षा प्रणालीलाई व्यावसायिक बनाउनेतर्फ नीतिनिर्माण तहमा बसेकोले सोच्न ढिलाइ गर्न हुँदैन । शिक्षालाई सिपमूलक, व्यावसायमूलक बनाई युवा पुस्तालाई स्वदेशमै बसेर केही गर्न सक्ने बनाउनु पर्छ ।