• ६ जेठ २०८१, आइतबार

विपत् प्रभावितको समस्या समाधान गर्न माग

blog

शून्य समयमा बोल्नुहुँदै प्रदेश सभा सदस्य।

अविनाश चौधरी

धनगढी, भदौ ५ गते। सुदूरपश्चिम प्रदेश सभाका सदस्यले प्राकृतिक विपत् प्रभावितको समस्या समाधान गर्न माग गर्नुभएको छ। वर्षा याममा बाढी, पहिरोका कारण प्रदेशवासीको जनजीवन प्रभावित भएको भन्दै उहाँहरुले विपत् प्रभावितको समस्या समाधान गर्न प्रदेश सरकारसँग माग गर्नुभएको हो। प्राकृतिक विपत्बाट जनधनकोसमेत क्षति भएको भन्दै उहाँहरुले उचित क्षतिपूर्तिको व्यवस्था गर्नका लागि पनि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ। साथै, विस्थापितको उचित व्यवस्थापन गर्न माग प्रदेश सभा सदस्यको रहेको छ। 

प्रदेश सभा सदस्य खुशीराम डंगौरा थारुले बाढी, पहिरोले जनजीवन अस्तव्यस्त भएको भन्दै त्यसको अनुगमन गरी समस्या समाधान गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो। उहाँले कान्द्रा, डोरा, सुकटीकाँढा नदी र बौराहा खोलामा आएको बाढीका कारण आफ्नो निर्वाचन क्षेत्रमा जनजीवन प्रभावित भएको बताउनुभयो। 

पहिरोका कारण बैतडीमा दुई जनाको ज्यान गएको थियो। बाढी, पहिरोले जनधनको नाश भएको प्रदेश सभा सदस्य जानकी ऐर बमले बताउनुभयो। उहाँले बैतडीका पहिरो पीडित परिवारलाई उचित राहतसहित विस्थापितको उचित ठाउँमा पुनःस्थापना गर्न आग्रह गर्नुभयो। 

प्रदेश सभा सदस्य खीमादेवी विष्टले साउन २२ गतेको पहिरोका कारण कैलालीको चुरे गाउँपालिकाको भ्यागुतेपानी, बन्देगडा, दोगडा, मुरेभावर, सावनीगडाका कैयौं परिवारको जनजीवन अस्तव्यस्त बनेको बताउनुभयो। धेरैजसो विस्थापित गोदावरी नगरपालिकाको वनदेवी जंगलमा बसिरहेको भन्दै सरकारले विस्थापितहरुको समस्या सम्बोधन गर्नु पर्नेमा जोड दिनुभयो। 

साउन २२ गते खसेको पहिरो कारण राष्ट्रिय राजमार्गसहित अन्य सडकहरु अवरुद्ध भएका थिए। धनगढी–सहजपुर–बुडर–स्याउले–सतबाँझ–थाकतेली–दार्चुला–टिङ्कर जोड्ने राष्ट्रिय राजमार्ग एनएस–६६ (भीमदत्त राजमार्ग) को पहिरोका कारण पहाडी जिल्लाको जनजीवन अझै कष्टकर छ। राष्ट्रिय राजमार्गको बूढीतोला पहिरोले गर्दा प्रदेशका जनताले अझै पनि अप्ठ्यारा भोग्नु परिरहेको प्रदेश सभा सदस्य जानकीदेवी कुँवरले बताउनुभयो। 

“भीमदत्तको पहिरोका कारण पहाडी जिल्ला नै ठप्प भएकाले वैकल्पिक सडक निर्माण गर्न आवश्यक छ”, प्रदेश सभा सदस्य बहादुरसिंह थापाले भन्नुभयो,“सातै जिल्लालाई जोड्ने वैकल्पिक राजमार्गको रुपमा दैजी–जोगबूढा सडक निर्माणलाई चाँडै पूर्णता दिउँ।” उहाँले वनकटी, वनहरा, चौधर, स्याली जस्ता नदीले आफ्नो निर्वाचन क्षेत्रमा ठूलो क्षति गरेको बताउनुभयो। 

बाढी, पहिरोका कारण प्रदेश नै अस्तव्यस्त रहेको भन्दै प्रदेश सरकारको भूमिको खोजी पनि गरिएको छ। प्राकृतिक विपत्मा परेका जनता गुहार मागिरहेका बेला उनीहरुको आवाज बोल्ने ठाउँ पनि नपाएको प्रदेश सभा सदस्य चक्र मल्लले बताउनुभयो। “यो सरकार जनताको सवालप्रति उदासिन छ”, उहाँले भन्नुभयो। 

पहाडमा पहिरोले धेरै बस्ती जोखिममा परिरहँदा तराईमा बाढीको समस्या बढी छ। विभिन्न नदीमा आउने बाढीका कारण बस्तीहरु कटानको जोखिममा परेको छ। भजनी क्षेत्रमा बर्सेनी हुँदै आएको डुबान समस्या समाधानका लागि काँढा, कान्द्रा, पथरैया लगायतका नदीमा उच्च तटबन्ध र ड्याम हुनु पर्ने प्रदेश सभा सदस्य घनश्याम चौधरीले बताउनुभयो। यसैगरी, हुलाकी राजमार्गमा रहेको पुलपुलेसा फराकिलो बनाउनु पर्ने उहाँले औंल्याउनुभयो। “सरकारले धनजन क्षतिको उचित क्षतिपूर्ति दिनु पर्दछ”, उहाँले भन्नुभयो। 

बाढीले किसानको कृषि बालीमा ठुलो क्षति गरेको प्रदेश सभा सदस्यहरुको भनाइ छ। उहाँहरुले क्षतिको यकिन विवरण सङ्कलनतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको छ। डुबानका कारण कञ्चनपुरको पुनर्वास नगरपालिकामा ५६५ हेक्टर जमिनमा लगाइएको धान र ५९५ हेक्टर उखु खेतीमा क्षति भएको प्रदेश सभा सदस्य वीरबहादुर थापाले बताउनुभयो। उहाँले पुनर्वास नगरपालिका–२ मा रहेको भागेश्वर सुगर मिलले रसायनयुक्त पानी सिमरी नदीमा मिसाउँदा कृषि बाली, जलचर र मान्छेलाई अत्यधिक असर परिरहेको उल्लेख गर्नुभयो।