नेपालका विभिन्न जातजातिमध्ये तोप्केगोला पनि एक हो, जसलाई सरकारले आदिवासी जनजाति समूहमा सूचीकृत गरेको छ। यो जातिको मुख्य बसोबास ताप्लेजुङको ओलाङ्चुङगोलाबाट पश्चिमको मेवा खोलाको माथितिर तोप्केगोलामा पर्छ। यो गाउँको नाम नै तोप्केगोला हो। यसका साथै पापुङ, नाल्बोतिर पनि यिनीहरूको बसोबास पाइन्छ।
हाल काठमाडौँ, सङ्खुवासभा, इलाम र धरानतिर पनि यिनीहरू बसेका छन्। सम्भवतः यिनीहरू बसोबास गर्ने तोप्केगोलाको स्थानीय भौगोलिक नामबाटै यो जाति तोप्केगोला भनिन थालेका हुन्। नेपालका अन्य कतिपय जातिको नाम वा थर स्थानविशेषबाट पनि रहन गएको देखिन्छ। तोप्केगोला तिब्बती मूलका भएका र यिनीहरू तिब्बत सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गरेका हुन् भन्ने विश्वास गरिन्छ।
यिनीहरूलाई ढोक्प्या पनि भनिन्छ। यिनीहरू तिब्बती मूलका हुन् भन्ने थप प्रमाणका रूपमा ढोक्प्या शब्दको बनोटलाई लिन सकिन्छ। तिब्बती भाषामा ढोक भन्नाले गोठ र पा भन्नाले बस्ने भन्ने बुझिन्छ। अर्थात् गोठमा बस्ने। तोप्केगोलाको मुख्य पेसा पनि गाई, चौँरी, च्याङ्ग्रालगायत पशुपालन भएकाले गोठ र त्यहाँको बसाइले यो जातिको नाम ढोक्प्या भएको हुन सक्छ। कतिपयले यिनीहरूलाई लिम्बू पनि भन्ने गरेका छन् र लिम्बूभित्रको एक थर ढोक्प्या वा तोप्केगोला भन्ने गर्छन् तर यिनीहरूको भाषा, जीवनशैली, पहिरन सामाजिक परम्पराजस्ता विशेषता लिम्बूसँग भन्दा तिब्बती मूलका शेर्पा वा भोटेसँग मिल्दाजुल्दा छन्।
कतिपय तोप्केगोलाले आफ्नो थरमा ‘शेर्पा’ लेख्ने गरेकाले यिनीहरू शेर्पा हुन् भन्ने दाबीलाई बल पुग्छ। गोलो अनुहारका गहुँगोरा तोप्केगोलाहरू आफूलाई अरू कुनै होइन तोप्केगोला वा ढोक्प्या भन्छन्। कसैले यिनीहरूलाई बालुङ पनि भन्ने गरेका छन् तर बालुङ र यिनीहरूबीच पनि यस्तै सामाजिक सांस्कृतिक भिन्नता पाइन्छ। लेखक कमल मादेनका अनुसार ‘तक’ र ‘गोला’ बाट तोप्केगोला शब्द प्रचलनमा आएको हो। लिम्बू भाषामा ‘तक’ को अर्थ भात र गोलाको अर्थ बजार भन्ने बुझिन्छ। यस ठाउँमा बेँसीतिरबाट चामल र तिब्बततिरबाट तिब्बती सरसामान ल्याएर व्यापार गरिन्थ्यो। चामल वा भातको व्यापार हुने भएकाले यस क्षेत्रका बासिन्दा तोप्केगोला भएका हुन् भनिन्छ। यिनले एक–डेढ सय वर्षअघि व्यापार वा अन्य सिलसिलामा नेपाल प्रवेश गरेका हुन् भन्ने विश्वास गरिन्छ। यिनीहरूको भाषालाई दोप्वर्या भनिन्छ, जुन भोट–चिनियाँ भाषा परिवारभित्र पर्छ।
कृषि तथा पशुपालनका अतिरिक्त घुमन्ते व्यापार यिनीहरूको जीवनयापन गर्ने प्रमुख आधार मानिन्छ तर अहिले भने यस्तो व्यापारमा कमी आएको छ। तोप्केगोलाले ताप्लेजुङदेखि धनकुटा, पाँचथर, धरान तथा सङ्खुवासभालगायत नेपालका पूर्वी पहाड, पूर्वी तराई र तिब्बतका सारलगायतका केही क्षेत्रमा जडीबुटी, जिम्मु, पाखनबेत, शिलाजित, सियो, धागो ऊनी कपडा जस्ता सामग्री बेच्ने र आवश्यक खाद्यान्नलगायत खरिद गर्ने गर्छन्। पछिल्ला दशकमा यातायातको सुविधा र गाउँको बजारीकरणले यिनीहरूको व्यापार गर्ने क्षेत्र फैलिएको छ तर किनबेच हुने सामग्री चाहिँ बजारिया हुने गरेका छन्।
मौलिक सामग्रीको किनबेच हराउँदै छ। विगतमा याक र चौँरीलाई भारी बोकाएर हिउँदको जाडोमा तीन/चार दिन हिँडेर बेँसी झर्ने र न्यानो मौसम सुरु भएपछि आफ्नै स्थायी बसोबास क्षेत्रमा फर्कनु यिनीहरूको सामाजिक–आर्थिक विशेषता थियो। मौसमी बसाइँसराइ अझै पनि यिनीहरूको सामाजिक परम्परा छ। यसलाई ‘कल्चरल इकोलोजी’ सँग जोडेर हेर्न सकिन्छ, जस्तै तोप्केगोला जातिमा प्रचलित मौसमी बसाइँसराइको संस्कृति निर्माणमा उनीहरू बस्ने स्थानको इकोलोजी (पर्यावरण) ले कस्तो प्रभाव पारेको छ। यिनीहरू व्यापारका सिलसिलामा हिँड्दा अधिकांश रूपमा लर्को बनाएर १०–१२ जनाको समूहमा हिँड्ने गर्छन्।
यिनीहरू मूलतः बौद्ध धर्मावलम्बी हुन् तर सामाजिक अन्तर्क्रियाका कारण पश्चिमतिरका सिङ्सावा र पूर्वका बालुङ, थुदाम, शेर्पा, भोटे, लिम्बू, राई जातिका धेरथोर सांस्कृतिक–सामाजिक विशेषता पनि यिनीहरूको जीवनशैलीमा प्रवेश गरेको देखिन्छ। शारीरिक रूपमा यिनीहरू शेर्पा जस्ता देखिन्छन्, पहिरन पनि केही मात्रामा समान देखिन्छ। महिला पुरुष दुवैले कपाल पाल्ने र डोरी बाँध्ने गरेको पाइन्छ।
तोप्केगोलामा जन्मदेखि मृत्युसम्मका संस्कार बौद्ध धर्म अनुसार गरिन्छ। बच्चाको नामकरणदेखि मृत्यु भएकालाई कहिले (निधन भएको एक–दुई दिनभित्र जुराएर) अन्त्यष्टि गर्ने, गाडेर वा जलाएर अन्त्यष्टि गर्ने जस्ता विधि, विधान बौद्ध धर्म अनुसार लामाले गर्ने गर्छन्। साधारणतयाः सुत्केरी, बच्चा, गर्भवतीको शवलाई गाडिन्छ, अन्यलाई जलाइन्छ।
विवाह गर्दा पनि लामाको भूमिका रहन्छ। विवाहअघि केटा र केटीको साइत जुराउनु पर्छ, यो काम लामाहरूले गर्छन्। तोप्केगोला समाजमा पर्ने सामुदायिक चाडपर्व, तोप्केगोलाभित्रका झैझगडा, जारी, दण्ड सजायमा पनि लामाको प्रभावकारी भूमिका रहन्छ तर अहिले भने यस्तो भूमिकामा कमी आएको छ। अबका यस्ता विवाद स्वाभाविक रूपमा स्थानीय तह हुँदै अदालतसम्म पुग्ने गरेका छन्।
नेपालको राष्ट्रिय जनगणना–२०६८ अनुसार तोप्केगोला जातिको जनसङ्ख्या एक हजार ५२३ रहेको देखिन्छ। सरकारले स्थानीय तहको निर्वाचनमा प्रतिनिधित्व प्रयोजनका लागि अल्पसङ्ख्यक समुदायको सूची बनाएको छ। कुल जनसङ्ख्याको ०.५० प्रतिशतभन्दा कम जनसङ्ख्या भएको समुदायलाई सरकारले अल्पसङ्ख्यकको सूचीमा राख्ने निर्णय गरे अनुसार तोप्केगोलासहित ९८ जातिलाई अल्पसङ्ख्यक सूचीमा राखिएको छ।
नेपाली लोकबाजाका अनुसन्धानकर्ता बुलु मुकारुङका अनुसार तोप्केगोला जातिका बाजाहरू ढम्ङे, ह्यान्जिङ, लिङ्बू, काङ्काङ, फलाम साथै धार्मिक बाजाहरू रादुङ, धुङ, ग्यालिङ, काङ्लिङ, ठिबू, डमरू, ङह आदि हुन्।
–त्रिभुवनचन्द्र वाग्ले