कालीकोट समाचारदाता
कालीकोट, भदौ ५ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले अध्यापन अनुमतिपत्रबिना नै नगर अनुदानमा शिक्षक नियुक्ति गरेको पाइएको छ। शिक्षकका लागि अध्यापन अनुमतिपत्र अनिवार्य भए पनि नगर अनुदानका १२ जना शिक्षकसँग अध्यापन अनुमतिपत्र छैन।
नगर प्रमुख धर्मराज शाहीकी श्रीमती चर्चना बम शाहीको समेत अध्यापन अनुमतिपत्र नरहेको बताइन्छ। राजनीतिक पहुँचका आधारमा नियुक्त ती शिक्षक आधारभूत र माध्यमिक विद्यालयमा कार्यरत छन्। नगर शिक्षा शाखा प्रमुख खेमराज शाहीका अनुसार वैशाखमा सबै विद्यालयलाई पत्राचार गरी अध्यापन अनुमतिपत्र छ छैन भन्ने जानकारी माग गरिएको थियो। केही विद्यालयले विवरण पठाए पनि केही विद्यालयले सो तथ्याङ्क समेत पठाएका छैनन्।
नगर प्रमुख धर्मराज शाहीको निर्देशनमा शाखाले लाइसेन्स खोजी नीति गर्न भनेको थियो तर अधिकांश अध्यापन अनुमतिपत्र नभएका शिक्षक नगर प्रमुख धर्मराज शाही निकटका रहेको बताइन्छ। अध्ययन अनुमतिपत्रविहीन शिक्षकका बारे जानकारी हुने र केही तल्लो तहको अनुमतिपत्र राखेर माथिल्लो तहको तलब भत्ता खाइपाई आएको कुरा खुल्ने भएपछि शिक्षा शाखा र नगर प्रमुख धर्मराज शाहीको जोडबलमा शिक्षकको काज सरुवा गरिएको बताइन्छ।
काज सरुवा हुँदा अध्यापन अनुमतिपत्र नभएका शिक्षकलाई माध्यमिक विद्यालय तहमा तानेर पुरानो शिक्षा ऐन २०२८ लाई देखाइ गुपचुप गर्न सकिने योजनामा शिक्षा शाखा र नगर प्रमुख शाही रहेको बताइन्छ। शिक्षा ऐन, २०२८ मा दुर्गममा विज्ञान, गणित र अङ्ग्रेजीको अध्यापन अनुमतिपत्र भएको शिक्षक नभेटिएमा व्यवस्थापन समितिको निर्णय अनुसार राख्न मिल्ने उल्लेख छ तर संशोधनपछि ऐनबाट त्यो व्यवस्था हटाइएको छ। नगर प्रमुख धर्मराज शाहीकी श्रीमती चर्चना बम शाहीको समेत अध्यापन अनुमतिपत्र छैन। श्रीमती शाही कालाशिल्ला मावि गोर्खाली गाउँको बाल विकास केन्द्रमा कार्यरत हुनुहुन्छ।
नगरपालिकाले माध्यमिक तहमा आठ जना, निमावि तह कक्षा ६ देखि ८ सम्म १६ जना र आधारभूत तह १ देखि ५ सम्म २६ जना गरी जम्मा ५० जना शिक्षक नियुक्त गरेको छ। शिक्षा शाखाले सङ्घबाट अनुदान प्राप्त शिक्षकको अनुमतिपत्र अनिवार्य भएको तर नगरपालिकाले राखेका शिक्षकको नभएको बताएको छ। रास्कोट नगरपालिकामा ३१ वटा सामुदायिक विद्यालय छन्। ४० वटा बालविकास केन्द्र छन्। नगरपालिकाले आफूखुसी ऐन र कार्यविधि बनाएर आफन्त भर्ती केन्द्र बनाएको नागरिकको आरोप स्थानीयको छ।