दार्शनिक लेनिनले भनेका छन्, “मलाई युवाको एक पुस्ता देऊ ! म संसारलाई नै रूपान्तरण गरिदिन्छु ।” युवा भनेको एक अजय शक्ति हो । युवा नवीन रचनालाई जन्म दिन सक्छन् अनि विश्वमा नै युगीन परिवर्तनको बिगुल फुक्न सक्छन् । युवा त्यस्तो ज्वार हो, जसले राष्ट्र र राष्ट्रियताका लागि भगीरथ तपस्या गर्न सक्छन् अनि विकास र परिवर्तनका लागि दरिलो र भरिलो आधार स्तम्भ बन्न सक्छन् ।
कुनै पनि देशको मेरुदण्ड भनेको युवा शक्ति हो । विश्वका अनेकौँ मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तन युवा शक्तिबाट नै भएको कुरा सर्वविदितै छ । युवा राष्ट्रिय विकासका प्रमुख मानव स्रोत र साधन भएकाले युवाको समुचित विकास नभई देशको विकास असम्भव छ । मानव जीवनकै सर्वाधिक ऊर्जाशील समयका रूपमा युवा अवस्थालाई लिइन्छ । युवाको अजस्र ऊर्जा र उनीहरूका असीमित आकाङ्क्षा समाज निर्माणका आधार हुन् । उनीहरूको अनेकौँ सपनामा नै परिवर्तन र नयाँ राष्ट्र निर्माणको आधार अन्तर्निहित हुन्छ ।
यो मुलुकले पनि राष्ट्र निर्माणका लागि पसिना बगाउने युवा खोजिरहेको छ । समाज र राष्ट्रको सामाजिक र आर्थिक एवं सांस्कृतिक रूपान्तरणका लागि मात्र नभई शोषण, अन्याय, अत्याचार र दमनबाट ग्रसित समाजलाई उज्यालो मुहार ल्याउने, नवीन दृष्टिकोण बोक्ने, फोहोरी राजनीतिलाई शुद्धीकरण गर्न क्षमतावान् र कुशल नेतृत्वका साथै विचारमा युवापन र युवा मन भएको एक असल युवा नेतृत्व खोजिरहेको छ । तसर्थ देशले विकासको मुहार फेर्न खोजिरहेको छ ।
मुलुकको वर्तमान अवस्थाले अचेल युवामा सर्वत्र असन्तुष्टि छ, आक्रोश छ । आफूहरूलाई केवल उपयोग मात्रै गरिएको बुझाइमा नेपाली युवा रहेका छन् । आफ्ना सरोकार, चिन्ता र हितलाई उपेक्षा गरिएको गुनासो युवाभित्र तीव्र छ । राजनीतिलाई फोहोरी खेलका रूपमा बुझ्ने मनोविज्ञानको विकास भएको छ ।
बेरोजगारी समस्या बढेको बढ्यै छ । खाडी जाने युवा स्वदेशभित्र सेना, प्रहरी वा अनुसन्धानमा सिपाही बन्न वा विद्युत्, खानेपानी आदि संस्थानमा कार्यालय सहयोगीको करार जागिरका लाागिसमेत नेताबाट भनसुन गराइपाउन कुदिरहेका देखिन्छन् । उद्योगधन्दा, कलकारखानामा पाखुरा खियाएर मुलुक समृद्धतिर हिँडाउन सक्ने युवा पङ्क्तिको यो अवस्था हुनु दुर्भाग्य हो ।
नेपालमा शिक्षा झनै महँगो र स्तरहीन बन्दै गइहेको छ । सेवाग्राहीले पाउने सुविधा झनै कठिन र व्यवस्थामा झनै भद्रगोल थपिएको छ । एउटा हिंसाको शृङ्खला रोकिए पनि नयाँ ढङ्गको हिंसा बढिरहेको छ । युवा नै त्यस्तो हिंसाको संवाहक र निशाना बनिरहेका छन् । भविष्यमाथि अन्योलको बादल यथावत् छन् । भूमण्डलीकरण, आधुनिकीकरण र खुलापनले ल्याएको तीव्र प्रतिस्पर्धा, उपभोक्तावाद र सङ्व्रmमणबिच युवा आफूलाई झनै असुरक्षित, निःसहाय र उपेक्षित महसुस गरिरहेको अनुभव हुन थालेको छ ।
धेरै युवा राजनीतिक आन्दोलनमा नहोमिएका पनि होइनन् । आफ्ना सपनालाई लत्याएर, आशा–अकाङ्क्षालाई मारेर राजनीतिक युद्धमा होमिएका ती युवाले परिवर्तनपश्चात् केही प्राप्त गरेको अनुभव गर्न सकेका छैनन् । त्यसैले युवामा विदेश पलायन, निराशा र विकृति बढाइरहेको छ । राजनीतिमा ‘रोल मोडेल’ को अभाव र मूल्यहरूको निरन्तर गिरावटले आमयुवालाई राजनीतिबाट अलग्याउँदै लगिरहेको छ । निष्ठावान्, स्वाभिमानी र मूल्यको राजनीति गर्न चाहने युवालाई राजनीतिले उत्साहित गर्न सकिरहेको छैन ।
लोकतान्त्रिक परिवर्तनपछि पनि राज्यले युवाको ऊर्जालाई राष्ट्र निर्माणमा लगाउने नीति बनाउन सकेको छैन । राष्ट्र निर्माणको मुख्य संवाहक युवालाई कसरी यस अभियानमा संलग्न गराउने ? शिक्षा, स्वास्थ्य जस्ता उनीहरूको प्रत्यक्ष सरोकारका विषयलाई कसरी अधिकारका रूपमा प्रत्याभूत गर्ने र त्यस क्षेत्रमा लगानी कसरी अगाडि बढाउने ? रोजगारीको अवसरको सिर्जना र त्यसमा सहज पहुँच कसरी कायम गर्ने ?
खेलकुद, मनोरञ्जन जस्ता क्षेत्रमा युवाका आकाङ्क्षाको परिपूर्ति कसरी गर्ने ? युवालाई अन्वेषण अनुसन्धानमा कसरी उत्पे्ररित गर्ने ? विकृतिबाट युवालाई कसरी मुक्त गर्ने ? सर्वोपरि रूपबाट राष्ट्र सुरक्षित भविष्य र अवसरको समानताप्रति उनीहरूलाई आश्वस्त कसरी तुल्याउने ? यस्ता गम्भीर प्रश्नमा सार्थक बहस भएकै छैन ।
राजनीतिक दलहरू सरकार गठन–विघटनका वरिपरि घुमेर आमयुवा सरोकारको विषय ओझेलमा पारिएका छन् । संरचनागत परिवर्तन हुन नसक्नुको परिणामले युवाका निम्ति न अवसरको वृद्धि भएको छ न त भएका अवसरमा बिनाभेदभाव पहुँच पाउन सकेका छन् । एउटा सानो अवसरका लागि शक्तिकेन्द्र धाउनै पर्ने र पहुँच नहुनेहरू जतिसुकै योग्य भए पनि अवसरबाट वञ्चित हुने पीडा यथावतै छ ।
राम्रा मान्छे छाडेर हाम्रा मान्छेलाई काखी च्याप्दा र हाम्रा मान्छेबाट पनि मेरा मान्छेमा झर्दा आज धेरै युवा निराश बन्न पुगेका छन् । नीति निर्माण गर्ने संरचनामा युवाको सहभागिता पनि प्रभावकारी बन्न सकेको छैन । दुर्भाग्यवश हाम्रो सामाजिक मनोविज्ञान परम्परावादी तìवबाट निर्मित छ । समाजका लागि केही गर्छु भन्ने युवालाई उडाउने एवं विपन्न वर्गको युवालाई हेप्ने प्रवृत्तिले पनि युवा अविश्वासको सिकार बनिरहेका छन्, जिम्मेवारीबाट वञ्चित बनाइएका छन् ।
युवालाई भविष्यको नेतृत्वकर्ता मूलधारको राजनीतिबाट वञ्चित गराइएका छन् । सहज ढङ्गले र स्वस्थ प्रतिस्पर्धाको आधारमा नेतृत्व चयन नै नगरी विजय हुनबाट वञ्चित गर्ने र नीति निर्माणको निर्णायक अवसरबाट वञ्चित गर्ने प्रवृत्ति विद्यमान छ । युवाको एउटा सिङ्गो पुस्ता आफ्नो क्षमता परीक्षण गर्न नपाई अयोग्य पुस्ताका रूपमा राजनीतिक दृश्यबाट बिदा हुन विवश छन् ।
वञ्चित पुस्ताको यो अवस्थिति नेपाली राजनीतिको एउटा विडम्बनापूर्ण तस्बिर हो । विदेशतिर हेर्दा जीवनको पचास वसन्त नपुगेका व्यक्तिहरूले संसारका शक्तिशाली राष्ट्रहरूको नेतृत्व गरिसकेका छन् तर विडम्बना नेपालमा यस्तो कहिले हुन सक्ला ?
राजनीतिक परिवर्तनपछि युवाले गर्ने मुख्य अपेक्षा भनेको राज्यका नीतिहरू युवाकेन्द्रित बनून्, राज्यका संरचना युवामैत्री होऊन्, युवा राजनीतिमा सहभागी होऊन्, युवाका भूमिका अभिवृद्धि र युवाको पक्षमा काम गर्ने सहज वातावरण निर्माण होस् । युवा वर्तमानका साझेदारी हुन् भने भविष्यका महानायक हुन् । जब विकासको कुरा अगाडि आउँछ तब युवाको क्षमता विस्तारमा विशेष ध्यान दिन जरुरी छ ।
जतिसक्दो स्वदेशी स्रोत र साधनको अधिकतम रूपमा सदुपयोग गर्दै लैजानु पर्छ । युवालाई स्वदेशमै स्वरोजगारको वातावरण मिलाइदिनु पर्छ । सय दिनको रोजगारीभन्दा पनि दीर्घकालीन नीति तथा योजना निर्माण गरी निर्वाह भत्ताको सट्टा स्थायी रूपमा रोजगारीको व्यवस्था मिलाउनु पर्छ । आवश्यक सहयोग, सकारात्मक सुझाव तथा प्रोत्साहन दिनु पर्छ । चाहे उद्योगमा होस्, चाहे कृषिमा होस्, चाहे व्यापार व्यवसायमा लगानी गर्नलाई अनुदान दिनु पर्छ । महिला सिप तथा विकासमा जोड दिनु पर्छ । युवाको आधारभूत अधिकारको प्रत्याभूति गर्दै युवा सशक्तीकरणको माध्यमबाट मूलधारमा समाहित गर्दै समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल निर्माण युवाको भूमिका र अन्तर्निहित क्षमतालाई गुणात्मक बनाउन जरुरी छ ।
उत्पादनशील स्रोतहरूमा युवा वर्गको पहुँचलाई वृद्धि गरी राष्ट्रको आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक क्षेत्रका सबै तहका नीति निर्माण, निर्णय एवं कार्यान्वयन प्रक्रियामा लैङ्गिक संवेदनशीलतामा आधारित अर्थपूर्ण सहभागिताको माध्यमबाट नेतृत्व क्षमता विकास गरी युवालाई राष्ट्रिय विकासको संवाहक शक्तिका रूपमा स्थापित गर्न अति नै आवश्यक छ । अन्त्यमा नवीन दृष्टिकोण, दृढ इच्छाशक्तिले भरिपूर्ण युवा पुस्ता नेतृत्वमा नआएसम्म देशको मुहान फेरिनेवाला छैन । त्यसैले युवाभित्रको सृजनशीलता, जोश, जाँगर, ऊर्जा र क्षमतालाई हेरेर युवालाई नेतृत्व दिनु पर्छ र नेतृत्व हस्तान्तरण गर्दै पाको पुस्ताले मुलुकलाई समृद्धितर्फ डो-याउनु पर्छ ।