नारद कोहार
तौलिहवा, भदौ ४ गते । प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व परम्परा अनुसार कपिलवस्तुमा पनि नागको पूजा गरी मनाइएको छ ।
घरको मूल ढोकामा नागको चित्र टाँसेर र नाग देउताको पूजा गर्ने प्रचलन छ । घरका मूलढोकामा नागको तस्बिर टाँसेर र नाग देउताको पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
कपिलवस्तु नगरपालिका वडा नं. ६ थुम्हवामा नाग स्थानमा गाईको दूध, तेल, सिन्दूर, महुवा, अक्षत, दुबो, खीर, रोटी लगायतका परिकार चढाएर नागको पूजा गर्नेहरूको घुइँचो लागेको थियो । कपिलवस्तु नगरपालिका वडा नं. ६ की राजमति भुजका अनुसार यो पर्व हामी वर्षौँ देखि मनाउँदै आएको बताउनुभयो ।
उहाँले विशेष गरी बिहानको समयमा नाग स्थानमा पूजा गर्ने र साझा घरमा विभिन्न परिकारहरू पकाएर खाने प्रचलन रहेको बताउनुभयो । नागलाई वैदिक मान्यता अनुसारसर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने मान्यता अनुसार नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरू बताउँछन् ।
वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्प लगायतका जीवले शोषण गरी मानव लगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नाग जातिको पूजा आज गर्ने रीत बसालेको धार्मिक विश्वास छ ।