शशिधर पराजुली
विराटनगर, भदौ ४ गते । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिने निर्णय भएको बताउनुभयो ।
उपसभामुख सिर्जना दनुवारले स्वास्थ्यमा समस्या आएको भन्दै बैठकमा उपस्थित हुन असमर्थ रहेको सूचना दिएपछि प्रदेश सभाको बैठक के हुने भन्ने अनिश्चित अवस्था उत्पन्न भएको छ । केहीबेर अघि बसेको गठबन्धन दलको बैठकले आजै विश्वासको मत लिने निर्णय गरेको छ ।
आजको बैठकको अध्यक्षता नेपाली कांग्रेसका सांसद इस्राइल मन्सुरले गर्नेगरी उपसभामुख दनुवारले जिम्मेवारी दिनुभएको छ । कोशी प्रदेशको संसदीय गणितअनुसार सत्तारूढ दलको सांसदले बैठकको अध्यक्षता गर्दा विश्वासको मत प्राप्त नहुने सम्भावना छ । सत्ता गठबन्धनसँग ४७ जना सांसद भए पनि अध्यक्षता गर्ने व्यक्तिले मतदानमा भाग लिन नपाउँदा बहुमत पुर्याउन नसक्ने अवस्था छ ।