काठमाडौं, भदौ ४ गते । चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सम्पूर्ण कर्मचारीलाई बीमा गर्न आग्रह गरेको छ । अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स, स्वास्थ्यकर्मी एवम् कर्मचारी र आउट सोर्सिङका स्टाफहरुको औषधि उपचार स्वास्थ्य बीमाबाट गरिने भएकाले अनिवार्य स्वास्थ्य बीमा गर्न आग्रह गरेको हो ।
अस्पतालका अनुसार अस्पतालले साउन २९ गतेबाट हरेक सोमबार सामाजिक सेवा एकाइमा स्वास्थ्य बीमा गरिरहेको जनाएको छ ।
बीमा गर्न परिवारका सदस्यको २ प्रति पासपोर्ट साइजको फोटो, कर्मचारी परिचय पत्र र आश्रित परिवारको नागरिकताको प्रतिलिपि (नाबालकको हकमा जन्मदर्ता प्रमाण पत्र) आवश्यक पर्ने अस्पतालले उल्लेख गरेको छ ।