• १३ मंसिर २०८१, बिहिबार

चौँरीखर्क पुगेर उपचार

blog

हुम्ला समाचारदाता 

हुम्ला, भदौ ४ गते । स्वास्थ्यकर्मीको एक टोलीले उच्च पाटनमा रहेका चौँरीखर्कमा पुगेर बालबालिकालाई खोप तथा अन्य खर्कालु (गोठाला) को उपचार गरेका छन्। नियमित खोपबाट बालबालिका नछुटून् र अन्य बिरामीको उपचारमा सहजताका लागि खर्कमै पुगेर उपचार गरिएको हो। 

सिमकोट गाउँपालिका–१, दोजामभित्र पर्ने चुँवा खोलाका उच्च पाटनमा पालनका लागि दुई महिनाअगाडि गएका खर्कालुको उपचारका लागि स्वास्थ्यकर्मीको टोली पुगेर उपचार गरेको हो। 

चौँरीखर्कमा १० महिनाको छोरासहित बस्दै आउनुभएकी खर्कालु याङछिङ लामाले नौ महिनामा लगाउने खोप बच्चालाई लगाउन पाइएको बताउनुभयो। उहाँले खर्कबाट एक दिन लाग्ने दोजाम गाउँको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा जान नसक्ने अवस्था रहेपछि यस पटकको खोप छुट्ने चिन्ता लागिरहेका बेला स्वास्थ्यकर्मी खर्कमै आएर खोप लगाउँदा सहज भएको जनाउनुभयो।

स्थानीयहरू पाँच वर्षमुनिका बालबालिकालाई आमासँगै खर्क लाने गरेका छन्। उहाँले छोराको मात्र नभएर आफ्नोसमेत स्वास्थ्य जाँच गरेर औषधी पाएको बताउनुभयो। केन्द्रका स्वास्थ्यकर्मी रत्न बोहराले स्वास्थ्य सेवा सहज बनाउनका लागि चौँरीखर्कमै पुगेर उपचार गर्न सफल भएको बताउनुभयो।

खर्कमा आमासँगै रहँदै आएका बालबालिकालाई तीन प्रकारका खोप लगाइएको छ। सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले सेवाग्राहीलाई स्वास्थ्य सेवाको पहुँचमा पु-याउन बर्खाको समयमा पानी पर्दापर्दै पनि स्वास्थ्यकर्मी खर्कमा पुगेर खोप लगाउने र अन्य खर्कालुको उपचार गर्न सफल भएको जानकारी दिनुभयो। स्वास्थ्यकर्मीले बिरामीसहित ७५ जना खर्कालुको स्वास्थ्य परीक्षण र निःशुल्क औषधीसमेत वितरण गरेको छ। सञ्चार सम्पर्क हुन नसक्ले चुँवा खोलाको खर्कमा खर्कालु बिरामी परेमा समस्या हुने गरेको छ।