जीवन दुई तरिकाले बाँच्न सकिँदो रहेछ । एक, केवल बाँच्नु । सास फेरेर मात्रै बाँच्नु । दोस्रो, केवल सास मात्रै नफेरेर सार्थक जीवन बाँच्नु । आजको दुनियाँमा प्रायःजसो मान्छे केवल सास फेरेर बाँच्नेहरू मात्रै देखिन्छन्, जो आफ्नो जीवन समाप्त भएसँगै सम्झन लायक पनि रहँदैनन् तर यही दुनियाँमा यदाकदा त्यस्तो मान्छे पनि जन्मन्छन् जो बाँचुञ्जेल सार्थक जीवन बाँच्छन् र मृत्युपश्चात् पनि आफ्नो नाम अमर पारेर जान्छन् ।
प्रदीप गिरि एउटा त्यस्तो नाम हो, जो नेपालको माटोमा जन्मिएका एक अलौकिक पुरुष हुनुहुन्थ्यो । ‘न भूतो न भविष्य’ भन्न त नसकिएला तर यही परिभाषाभित्रका कुनै न कुनै एकछेउमा उहाँको नामलाई पक्कै राख्न सकिन्छ । इतिहासमा बुद्ध, अरनिको, पृथ्वीनारायणसँगै पछि आएर देवकोटा, सम, बिपीका नाम सम्मानपूर्वक लिइन्छ । करिब–करिब तिनै नामको महलमा बौद्धिकताको दृष्टिबाट प्रदीप गिरिको थप नाम दर्ता गर्न सकिन्छ । यस अर्थमा कि कम्तीमा पनि बाँचुञ्जेल उहाँले समाजमा राजनीतिको क्षेत्र अन्तर्गत बौद्धिक भूमिका खेल्नुभयो । मूलतः कांग्रेससँग उहाँको वैचारिक पक्ष जोडिएको छ । तथापि, वैचारिक रूपले उहाँ नेपाली कांग्रेससँग नजिक रहनुभएको भए पनि सैद्धान्तिक रूपले उहाँ पार्टीको घेराभित्र अटाउनुहुन्न । यस अर्थमा, उहाँ नेपाली कांग्रेसभित्रै पनि एक विद्रोहीको रूपमा परिचित हुनुहुन्थ्यो । नेपाली कांग्रेसले आफ्नो इतिहासमा गरेका केही निर्णयप्रति प्रस्ट रूपमै विरोध गर्नुभएको थियो । एउटा थियो, उहाँको अनुपस्थितिमा निर्णय गरेर कार्यान्वयनसमेत गरिएको विसं २०३१ को ‘ओखलढुङ्गा काण्ड’ ।
देशका होनहार युवाहरू सहिद भएको त्यो ओखलढुङ्गा काण्डमा पुगेको सम्पूर्ण क्षतिको कसुरदार सिङ्गो रूपमा बिपीलाई ठह¥याउनुभएको थियो । त्यस काण्डमा सहिद हुनबाट बाँचेका जिउँदो सहिदको उपनामले परिचित महेश कोर्मोचालाई मौखिक रूपमा उहाँले त्यही समयमा ‘तपाईंहरूले नकाम गर्नुभयो । निर्दोष कलिला केटाहरूलाई व्यर्थै ज्यान फाल्न लगाइयो’ भनेर आफ्नो रुष्टता जाहेर गर्नुभएको थियो ।
कांग्रेसका लागि मात्रै होइन, सम्पूर्ण समाज र सिङ्गो देशको पक्षमा आफ्नो स्पष्ट विचार, जुन सर्वस्वीकार्य हुन्छ– त्यो सामान्य मान्छेले दिन सक्दैन तर प्रदीप गिरि त्यस्तो व्यक्ति हुनुहुन्थ्यो, जसको विचार यति सशक्त हुन्थ्यो, कि त्यसलाई नकार्नुपर्ने बाटो कसैले खोजेर पनि पाउँदैनथ्यो । ‘कदमजम’–सूत्र उहाँले नै प्रतिपादन गर्नुभएको थियो । अर्थात्, क– ‘कर्णाली,’ द– ‘दलित,’ म– ‘महिला,’ ज– ‘जनजाति,’ म– ‘मधेशी,’ यी पाँच शीर्षकको आधार नै देशको सक्कली अनुहार हो भन्ने उहाँको धारणा थियो । जस्तो कि– बिपीले आफू सत्तामा पुग्नासाथ प्रत्येक कार्यालयका मुख्य कोठाको भित्तामा हलो जोतिरहेको किसानको फोटो झुन्ड्याउन लगाउनुभएको थियो ताकि कुनै पनि निर्णय गर्दा त्यो फोटो हेरेर गरियोस् । यसको सिधा अर्थ थियो, गरिब किसानलाई ध्यान दिएर निर्णय गरियो भने त्यसले किसानको भलो गर्छ । ठिक त्यसकै प्रतिविम्ब मात्रै होइन स्पष्ट आकृति लिएको ‘कदमजम’को सूत्रलाई अघि सारेर राष्ट्रले कुनै पनि निर्णय गर्ने हो भने देश विकासको सुरुवात त्यहीँबाट हुन्छ भन्ने उहाँको मान्यता थियो ।
उपर्युक्त मान्यताका आधारमा भन्न सकिन्छ कि ‘जनता’लाई उहाँ सर्वोपरि मान्नुहुन्थ्यो । जनता शोषित–पीडित भइरहने र शासक सधैँ उपल्लो कोटीमा विराजमान भइरहँदासम्म त्यस देशको प्रगति हुन सक्दैन भन्ने धारणामा दत्तचित्त भएर उहाँ बोलिरहनुहुन्थ्यो, लेखिरहनुहुन्थ्यो । स्पष्ट छ, जनता सुखी र खुसी भए मात्र देशले आफ्नो पहिचान पाउँछ । त्यो पहिचानका लागि जनतालाई राष्ट्रियतासँग जोड्न आवश्यक छ । यसो भन्दैमा खोक्रो राष्ट्रियताले देश जीवित अवस्थामा रहन सक्दैन । प्रदीप गिरि भन्नुहुन्थ्यो– “साँचो राष्ट्रियता जहिले पनि आमजनताको आकाङ्क्षा, हक–अधिकार र स्वतन्त्रतामाथि आधारित हुन्छ तर सङ्कीर्ण र विकृत राष्ट्रियता भने जनताको अधिकार लिएर उफ्रन्छ ।”
गलत राष्ट्रियताको सवालमा गिरिले बडो रोमाञ्चक उदाहरण दिनुभएको छ । विस्मार्क, हिटलर, मुसोलिनी र राजा महेन्द्रसमेत पनि जनताको अधिकारलाई कुल्चेर राष्ट्रवादी भएका थिए । खास गरेर राजा महेन्द्रले अत्यन्त सचेत रूपमा नेपालमा राष्ट्रियताको राजनीति गरे तर त्यो राष्ट्रियतामा उनको सचेतता हुँदाहुँदै पनि त्यो नकारात्मक थियो भन्ने उहाँको ठहर थियो । उहाँले यस विषयमा कांग्रेसलाई हास्यात्मक शैलीमा “नेपाली कांग्रेस पनि महेन्द्रको र पछि गएर वीरेन्द्रको नक्कली राष्ट्रियताको जालमा प-यो” भन्नुभएको थियो ।
वास्तवमै, गिरिले भन्नुभए झैँ, नेपालको राष्ट्रियता कमजोर भएकै हो । जसका कारण राज्यका अङ्गहरू– भाषा, संस्कृति, कला, साहित्यलगायतका अन्य सामाजिक पक्षमा त्यसको नकारात्मक असर परेको हो भनेर आँखा नखोली नै भन्न सकिन्छ । जस्तो कि– नेपालमा भएको मधेश आन्दोलन गर्नेहरूले नकारात्मक राष्ट्रियताको विरुद्ध आवाज उठाएको दाबी त्यत्तिकै गरेका होइनन् । त्यसैले पनि, प्रदीप गिरि यस प्रकारको आन्दोलनमा सदैव समर्थक रहनुभएको हो । हुन पनि मधेश आन्दोलनमा त उहाँ ‘फ्रन्ट लाइन’मै देखिनुभयो । वर्तमान सत्ता साझेदार जसपाका प्रवर्तक उपेन्द्र यादवलाई काँधमा हात राखेर हौसला दिने नै गिरि हुनुहुन्थ्यो भनेर यादव सहर्ष स्वीकार्नुहुन्छ ।
प्रदीप गिरिको यो कुनै राजनीति चलखेल थिएन, राष्ट्रियताप्रतिको मोह थियो । माथि नै पनि भनियो, उनी बौद्धिक हिसाबका मानिस थिए । कुनै प्रसङ्गमा पङ्क्तिकारले गिरिलाई सोधेको थियो– “तपाईं स्वयम् आफूमा के हो ? बुद्धिजीवी... चिन्तक... राजनीतिज्ञ वा सामान्य नागरिक ?”
गिरिको जवाफ यस्तो थियो– “मान्छे आफू ‘केही हुइनँ’ भन्दाभन्दै पनि उसले जीवनमा एकसाथ अनेकौँ आयाम र अस्थिरता साँचेर बसेको हुन्छ । यस अर्थमा, कुनै पनि व्यक्तिभित्र एउटै मात्र पहिचान खोज्न सम्भव हुँदैन । मेरो हकमा, मैले एकसाथ अनेक किसिमका क्रियाकलाप गरिराखेको हुन्छ ।... म मूलतः राजनीतिकर्म गरिराखेको भए पनि लेखपढमा रुचि राख्छु । त्यसमाथि पनि पढ्नमा ज्यादा । यसै दृष्टिले, मेरो व्यक्तित्वले त्यस खालका कुनै ‘अपरिचय’ प्राप्त गर्छ भने मेरो लागि त्यो आपत्तिजनक छैन ।”
यथार्थमा उहाँलाई ‘अन्वेषक’ भनिदिए सन्तुष्टि मिल्ने थियो जस्तो लाग्छ । किनकि, उहाँ भन्नुहुन्थ्यो– “जीवन भनेको ज्ञानको भण्डार हो । म त जीवनका बारेमा अझ बढी जिज्ञासु छु ।”