• २७ वैशाख २०८२, शनिबार

अनुदानको मल बिक्री गर्नेलाई दुई लाख जरिवाना

blog

माँ दुर्गा एग्रिकल्चर एण्ड सप्लायर्समा अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालय इलामको टोली । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, भदौ ३ गते । सरकारले किसानलाई अनुदानमा दिएको रासायनिक मल विनाअनुमति बिक्री गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय इलामले सदरमुकाममा रहेको एक पसललाई दुई लाख रुपियाँ जरिवाना गरेको छ । 

सदरमुकामस्थित इलाम नगरपालिका –७ मा सञ्चालित माँ दुर्गा एग्रिकल्चर एण्ड सप्लायर्सलाई उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम कसुर गरेको ठहर गर्दै सो जरिवाना गरिएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले बताउनुभयो । 

कोइरालाले उक्त पसल सञ्चालकलाई आजको मितिले सातदिन भित्र बैङ्कमा जरिवानाबापतको रकम जम्मा गरी भौचरको प्रतिलिपि जिल्ला प्रशासन कार्यालयमा बुझाउन आदेश दिइएको बताउनुभयो । कोइरालाका अनुसार सो पसलबाट १४ बोरा युरिया, २६ बोरा डीएपी र दुई बोरा पोटास बरामद गरिएको छ । 

यसअघि पनि प्रशासन कार्यालयले सदरमुकामकै सुनभागा चोकमा रहेको कृषिबिज भण्डारबाट बिक्री गर्न राखिएको अनुदानको मल बरामद गरेको थियो । बरामदपछि छानबिन गरी प्रशासनले सहकारीमार्फत किसानलाई बाँड्नुपर्ने रासायनिक मल किनेर बेच्ने उक्त बीज भण्डारलाई पनि दुई लाख रुपियाँ जरिवाना गरेको थियो ।