• १३ मंसिर २०८१, बिहिबार

गाडीमा कालो सिसाको दुरुपयोग

blog

फाइल तस्बिर

हरिकृष्ण ऐडी 

मुगु, भदौ ३ गते । हिमाली जिल्ला मुगु भएर सवार गर्ने निजी सवारी साधनमा कालो स्टिकर टास्ने गरेको पाइएको छ । सिसामा कालो स्टिकर टाँसेर सर्वसाधारणले समेत प्रयोग गरी दुरुपयोग भइरहेको सरोकारवाला पक्षको भनाइ छ ।   

सिसामा कालो स्टिकर प्रयोग गर्ने चारपाङ्ग्रे गाडी कर्णालीको राजमार्ग हुँदै  नाग्म–मुगु लोकमार्गमा दर्जनौँ गाडीहरू आउजाउ गर्दैआएका छन् । जिल्लाको प्रहरी कार्यालय र  ट्राफिक कार्यालयले यस्ता गतिविधि गर्ने गाडी चालकलाई रोक्ने प्रयास नगरेको जिल्ला नागरिक समाजका संयोजक रूपबहादुर मल्लले बताउनुभयो । 

ट्राफिक कार्यालयले अहिलेसम्म कालो स्टिकर सिसा प्रयोग गर्ने निजी गाडीको निगरानी र  तथ्याङ्क नराखेको उहाँले गुनासो गर्नुभयो । ‘कालो सिसा प्रयोग गर्ने गाडीले जिल्लामा  दुरुपयोग गर्नेक्रम बढेको छ । दुरुपयोग गर्ने चारपाङ्ग्रे गाडीलाई न्यूनीकरणका लागि सम्बन्धित निकायले यथाशक्य चाँडो स्टिकर लगाइएका कालो सिसा हटाउनुपर्छ’ उहाँले भन्नुभयो ।

स्थानीय समाजसेवी रामलाल रोकायाले जिल्लामा साना चारपाङ्ग्रेमा नियम उल्लङ्घन गरी कालो सिसा लगाउनेक्रम बढेको बताउनुभयो । जिल्लाको ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयले नियमविपरीत कालो सिसा लगाउने सवारी साधनमाथि कडाइगरी कारबाही गर्नुपर्ने उहाँको सुझाव छ । 

जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख महेश बस्नेतले गाडीमा जोकोहीले कालो सिसा लगाउन प्रतिबन्ध रहेको बताउनुभयो । जिल्लामा पछिल्लो पटक कालोसिसा प्रयोग गर्ने गाडीको दुरुपयोग बढेको सूचना प्राप्त भएको उहाँले बताउनुभयो । 

जिल्ला ट्राफिक कार्यालय मुगुका प्रहरी सहायक निरीक्षक वीरसिंह धामीले जिल्लामा आउजाउ गर्ने सवारी साधनमा लगाइएका कालो सिसा हटाउन र त्यस्ता सवारीलाई नियन्त्रणमा लिएर कारबाही गर्ने गरिएको बताउनुभयो । सर्वोच्च अदालतको आदेशले २०६४ सालमा गाडीमा कालो सिसा प्रयोगमा रोक लगाउन आदेश दिएको थियो ।