• १९ वैशाख २०८१, बुधबार

देशमा विकासका लागि योजना दिने राजनीतिज्ञ चाहिएको छ : गगन थापा

blog

लिलाराज खड्का

बिर्तामोड, भदौ ३ गते । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व मन्त्री गगन थापाले नेपालमा अहिले विकासका लागि योजना दिने नेता र राजनीतिज्ञ चाहिएको बताउनुभएको छ । झापाको बिर्तामोडमा विद्यार्थी सङ्घले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता थापाले भन्नुभयो अव हामीलाई गनगन गर्ने र समस्या ओकल्ने मात्रै नेताको काम छैन देशलाई निकास र विकास दिने नेता र राजनीतिज्ञको खाँचो छ । 

नेपालमा युवा पुस्ताबाट मात्रै यो सबै सम्भव रहेको थापाको भनाई थियो ।  थापाले विकसित अन्य मुलुकले समेत समय छदै आर्थिक समृद्धि प्राप्त गरेका कारण अहिले विदेशबाट समेत युवालाई आफ्नो देशमा लगेर काममा लगाउन सफल बनेको भन्दै  नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन २० बर्से योजना तयार गर्नुपर्ने बताउनुभएको छ ।

थापाले नेपाल  अबको २० देश  बुढाहरूको देश हुने भन्दै यसअगाडिनै  नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन सकेमात्रै यसको विकास सम्भव हुने बताउनुभयो ।  बुढो भएपछि विकास सम्भव हुँदैन  देशले जवान छँदै आर्थिक समृद्धि प्राप्त गर्नुपर्छ थापाले भन्नुभयो ।  

थापाले नयाँ आउने राजनीतिक शक्तिहरूले उत्तेजनाको राजनीति गरेको भन्दै  उत्तेजनाकै राजनीतिका कारण देश धेरै पछि परेको बताउनुभयो ।  कार्यक्रममा नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवे, सचिव नवीन विमली, कोषाध्यक्ष जलकुमार गुरुङ लगायतले बोल्नु भएको थियो ।