• २४ पुस २०८१, बुधबार

राज्यको सम्पत्ति दोहन गर्ने जो कसैलाई कारबाही हुर्नै पर्छ : महामन्त्री थापा

blog

नेपाली कांग्रेस इलाम नगर सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापा । तस्बिर : गोरखापत्र

कोकिला ढकाल

इलाम, भदौ २ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यको ढुकुटी दोहन गर्न खोज्ने प्रधानमन्त्री होस कि पूर्वप्रधानमन्त्री जो कसैलाई  कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।

पछिल्लो समय नेपालमा चलिरहेको ललिता निवास, सुन प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड अथवा विगतमा भएका कुनैपनि भ्रष्टाचारका मुद्दाहरूमा मुछिएका सबै व्यक्तिको निष्पक्ष छानबिन र दोषीलाई कारबाही हुनुपर्ने बताउनुभएको छ । 

इलाम नगरपालिका स्थित नेपाली कांग्रेसको नगर सम्मेलनलाई आज सम्बोधन गर्दै महामन्त्री थापाले ललिता निवास प्रकरणमा तानिएका पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि छानबिन नहोस् भनेर सत्ता गठबन्धनमा चलिरहेको छलफल प्रति आपत्ति जनाउनुभएको हो । 

‘‘पूर्वप्रधानमन्त्रीहरु नेपाल र भट्टराईका विषयमा सत्ता गठबन्धनमा छलफल भयो भन्ने समाचार आयो, त्यसो गर्न पाइन्छ ?’ थापाले प्रश्न गर्दै भन्नुभयो, दोषीमाथि छानबिन हुन दिनुपर्छ, दोषीलाई जोगाउन नेपाली कांग्रेस अग्रसर हुँदैन ।’’ 

थापाले आफ्नो पार्टीभित्र आठलाख ६६ हजार क्रियाशील सदस्य रहेकोमा ती मध्ये एक जनाले पनि राज्यको सम्पत्ति दुरुपयोग गर्छ, गर्न खोज्छ भने त्यसको भारी नेपाली कांग्रेसले नबोक्ने र त्यस्तो व्यक्ति नेपाली कांग्रेस हुन नसक्ने स्पष्ट पार्नुभयो । 

नेपाली कांग्रेसको एउटैमात्र सङ्कल्प नेपाली जनतालाई स्वतन्त्र, सम्पन्नता र सम्मानित बनाउँदै समुन्नत राष्ट्र बनाउने  रहेको भन्दै महामन्त्री थापाले त्यसकालागि मुख्य एजेन्डा संविधानको कार्यान्वयन, परिमार्जन गर्दै सर्वस्वीकार्य बनाएर त्यसको ‘फ्रेमवर्क’ भित्र काम गर्ने बताउनुभयो ।

थापाले नेपाली कांग्रेसभित्र रहेको गुटबन्दी हटाउन पाटीको विधि प्रक्रिया नै परिवर्तन हुनुपर्ने बताउनु भयो । उहाँले आगामी ०८२ सालको पुसभित्र पाटीको महाधिवेशन हुने भन्दै त्यो महाधिवेशनले विधि र पद्धति परिवर्तन गर्ने बताउनु भयो । उहाँले अर्को एक प्रसङ्गमा आगामी ०८४ साल भित्र देशलाई भ्रष्ट्राचार मुक्त बनाउँछु भनेर नेपाली कांग्रेसले भन्न सक्नुपर्ने बताउनुभयो ।