• ४ जेठ २०८१, शुक्रबार

वडाध्यक्ष र सचिवबिच विवाद दुई सातादेखि कामकाज ठप्प

blog

शिवशङ्कर मिश्र

कलैया, भदौ २ गते । वडाध्यक्ष र सचिवबिच विवाद हुँदा सेवाग्राही समस्यामा परेका छन् । प्रसौनी गाउँपालिका–३ का वडाध्यक्ष छोटेलालप्रसाद कानु र वडाका कार्यालय सचिव राजवंशीप्रसाद यादवबिच विवाद हुँदा स्थानीय बासिन्दाले पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित भएका छन् ।

नागपञ्चमीका दिन सो वडामा प्रत्येक वर्ष महाविरी झन्डा मेला लाग्दै आएकोमा यस वर्ष पनि मेला लगाउने सम्बन्धमा दुवैबिच कुरा नमिल्दा सामान्य विवाद भएपछि १५ दिनदेखि कार्यालयको कामकाज ठप्प भएको स्थानीयवासीले गुनासो गरेका छन् । वडा सचिव यादव पनि सोही वडाका बासिन्दा हुन् । 

वडाध्यक्षले वडा सचिवको कक्षमा ताला लगाएर बाहिर घुम्ने गरेका छन् । छोरीको जन्मदर्ता बनाउन १५ दिनदेखि वडा कार्यालयमा धाउँदै आउनुभएका राकेश साहले भन्नुभयो, “वडाध्यक्ष र वडा सचिवबिचको विवादले हामी सेवाग्राहीको काम रोकिएको छ, सेवाग्राही दिनहुँ कार्यालय आउने जाने गरेका छन् ।”

वडा कार्यालयमा स्थानीयवासीको निवेदन र दैनिक गरिनुपर्ने नागरिकता सिफारिस, जन्मदर्ता, सामाजिक सेवा सुरक्षाको नवीकरणलगायतका कामको फाइल थन्किएका छन् । जीवन बिमा र जग्गाको सिफारिसका लागि १२ दिनदेखि वडा कार्यालयमा धाउँदै आएको अर्का सेवाग्राही रामनरेश साहले बताउनुभयो । 

वडाध्यक्ष कानुले स्टाम्प, स्टेपलर र लेटरप्याड लिएर आफ्नो कक्षमा राखेर ताला लगाएर बाहिर बाहिरै घुम्ने गरेको वडा सचिव यादवले बताउनुभयो । मेला लगाउने विषयमा वडाध्यक्ष कानुले मनपरी गर्न खोजेपछि त्यसको विरोध गर्दा यो अवस्था आएको उहाँले स्वीकार गर्नुभयो । 

वडाध्यक्ष र सचिवको विवादले कार्यालय नै ठप्प भएपछि स्थानीय बासिन्दाले प्रसौनी गाउँपालिका कार्यालयमा दुःखेसो पोखेका छन् । वडा सचिव यादवको अन्य वडामा सरुवा गरेर अर्को वडा सचिव अमित दुलाललाई शुव्रmबार पठाइएको गाउँपालिकाका कार्यालय प्रमुख सुमितकुमार सिंहले जानकारी दिनुभयो ।