राजन रावत
हुम्ला, भदौ २ गते । सिमकोट गाउँपालिका–२ को ठेहे गाउँकी बाँचपुरी बोहरालाई हिउँद लागेपछि दन्याडीमा तोरी पेल्न फुर्सद हुन्नथ्यो। हातैले तेल पेल्ने परम्परागत काठको भाँडा नै सिमकोट मात्र होइन हुम्ला जिल्लामै तेल पेल्ने रैथाने प्रविधि थियो। यसरी तेल पेल्ने जिम्मा महिलाकै काँधामा हुन्थ्यो। अहिले परिस्थिति फेरियो। जीर्ण अवस्थाका दुई वटा काठका दन्याडी बाँचपुरीको घर करासोमा बेवारिस फालिएका छन्। यहाँका प्रत्येक घरमा पुराना एक दुई दन्याडी जीर्ण अवस्थामा फालिएका पाइन्छन्। बाँचपुरीले भन्नुभयो, “उहिले घर घरमा दन्याडी हुन्थ्यो। हरेक घरका महिला दन्याडीमा तोरी पेल्थे। अहिले फाट्टफुट्ट रूपमा दन्याडीमा तोरी पेलेको देख्न पाइन्छ।”
गाउँमा तेल पेल्ने आधुनिक मेसिनको प्रवेशपछि परम्परागत सिप र ज्ञानमा आधारित दन्याडी प्रविधि लोप हुँदै गयो। स्थानीय उत्पादन तोरी, ढँटेलो, चुली, खाँबु, अलस, सुर्यमुखीका दानालाई दन्याडीमै पेलेर तेल निकाल्ने हुम्लाको पुरानो चलन हो। खार्पुनाथ गाउँपालिका–१, प्युसगाउँकी जानकी सिंहले दन्याडीमा हातले तोरी पेल्दा शुद्ध तेल आउने गरेको स्मरण गर्नुभयो।