• १२ मंसिर २०८१, बुधबार

चौरीको खर्कमा पुगेर बालबालिकाको उपचार

blog

खर्कमा बालबालिकालाई खोप लगाउदै स्वास्थ्यकर्मी । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, भदौं १ गते । स्वास्थ्यकर्मीको टोलीले उच्च पाटनमा रहँदैआएका चौकीको खर्कमा पुगेर बालबालिकालाई खोप लगाउने र अन्य खर्कालुहरुको उपचार गर्ने काम गरेको छ ।

नियमित खोपबाट बालबालिका नछुटुन् र अन्य बिरामीको उपचारमा सहजताका लागि खर्कमा पुगेर उपचार गर्ने काम गरिएको हो । सिमकोट गाउँपालिका –१ को दोजामभित्र पर्ने चुँवाखोलाका उच्च पाटनमा पालनका लागि दुई महिना अगाडि जानु भएका खर्कालाको उपचारका लागि स्वास्थ्यकर्मीको टोली पुगेर उपचार गरेको छ । 

चौरी खर्कमा दश महिनाको छोरासहित रहँदै आउनुभएकी खर्कालु याङछिङ लामाले नौ महिनामा लगाउने खोप छोरालाई लगाउन पाइएको बताउनुभयो । उहाँले खर्कबाट एक दिन लाग्ने दोजाम गाउँको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा जान नसक्ने अवस्था रहेपछि यस पटकको खोप छुट्ने चिन्ता भएका बेला स्वास्थ्यकर्मी खर्कमा आएर खोप लगाउने काम गर्दा सहज भएको बताउनुभयो । 

स्थानीय पाँच वर्ष मुनिका बालबालिकालाई आमासँगै खर्क लग्ने गर्दै आउनुभएको छ । उहाँले छोराको मात्र नभएर आफ्नो समेत स्वास्थ्य जाँच गरेर औषधि समेत पाएको बताउनुभयो । केन्द्रका स्वास्थ्यकर्मी रत्न बोहराले स्वास्थ्य सेवा सहज बनाउन स्वास्थ्यकर्मीको टोली चौरीको खर्कमा पुगेर उपचार गर्न सफल भएको बताउनुभयो ।

खर्कमा आमासँगै रहेका बालबालिकालाई तीन प्रकारका खोप लगाउने कार्य समेत भएको बताउनुभयो । सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले सेवाग्राहीलाई स्वास्थ्य सेवाको पहुँचमा पुगाउन बर्खाको समय पानी पर्दा पनि स्वास्थ्यकर्मी खर्कमा पुगेर खोप लगाउने काम गरेको बताउनुभयो ।

स्वास्थ्यकर्मी खर्कमा एक दिन पैदल हिडेर पुग्नुभयो । उहाँले स्वास्थ्यकर्मीले बिरामीसहित ७५ जना खर्कालुको स्वास्थ्य परीक्षण र निःशुल्क औषधि दिने काम भएको बताउनुभयो । खर्कमा उपचार सेवा पाउँदा खर्कालुहरु समेत खुसी हुनुभएको छ । यस पटकको उपचारका लागि चुँवाखोला र रानी सैनाका खर्कका सामुदायिक स्वास्थ्य इकाई कुम्किल र सामुदायिक स्वास्थ्य एकाई खोल्सीका स्वास्थ्यकर्मी समेत परिचालन हुनुभएको थियो ।