• १३ मंसिर २०८१, बिहिबार

एसियाड कबड्डीको विशेष प्रशिक्षण भारतमा

blog

बिदाइ कार्यक्रममा नेपाली कबड्डी महिला टोली ।

काठमाडौं, भदौ १ गते । चीनको हाङजाउमा हुने १९औं एसियाली खेलकुद (एसियाड) मा सहभागी हुने नेपाली कबड्डी महिला टोली भारतको हरियाणामा एक महिनाको विशेष प्रशिक्षणमा सहभागी हुने भएको छ ।

भारतमा नेपालले प्रशिक्षणसहित सात वटा अभ्यास खेल पनि खेल्नेछ । नेपाली टोलीको प्रशिक्षण त्यहाँको गुरुकुल एकेडेमीमा सञ्चालन हुनेछ । नेपाली टोलीलाई शुक्रबार नेपाल ओलम्पक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाइ गर्नुभयो ।

हाङजाउ एसियाली खेलकुदमा नेपालले  कबड्डी को महिला विधामा आफ्नो चुनौती पेस गर्नेछ । बिदाइ समारोहमा अध्यक्ष श्रेष्ठले यस विशेष प्रशिक्षणले नेपाली टोलीको तयारीमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

नेपाली टोलीको खेलाडीमा कप्तान मेनुकाकुमारी राजवंशी, मनमति विष्ट, अन्जुकुलुङ राई, नीतु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बदु, अर्पण चौधरी, गंगा घिमिरे, इशा राई र कलावती पन्त हुनुहुन्छ । यस्तै मुख्य प्रशिक्षकमा पार्वती राई, प्रशिक्षकमा विष्णुदत्त भट्ट र व्यवस्थापकमा कृष्णदेवी पन्त हुनुहुन्छ ।

खेलाडीको बिदाइ अवसरमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चुतरानन्दराज बैद्य, कमिटीका सचिव तथा नेपाल कबड्डी सङ्घकी अध्यक्ष तुल्सी थापा, संघका महासचिव अरविन्दकुमार झा र सचिव तर्कराज भट्टको पनि उपस्थिति थियो ।