काठमाडौं, भदौ १ गते । ब्याडमिन्टन एसिया र नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा शुक्रबारदेखि ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप–२०२३ काठमाडौंमा सुरु भएको छ ।
शसस्त्र प्रहरी बल मुख्यालय हल्चोमा सञ्चालित प्रतियोगिताको पहिलो दिन नेपाली खेलाडीले मिक्स टिम इभेन्टस्मा दोहोरो जित निकालेका छन् । नेपाल सहित श्रीलङ्का, पाकिस्तान, मालदिभ्स, भुटान र बंगलादेश सम्मिलित च्याम्पियनसिपको पहिलो दिन नेपालले यू–१५ तर्फ र यू–१७ दुवैतर्फ जित निकालेको हो ।
यू–१५ र यू–१७ दुवैतर्फ नेपालले वेष्ट अफ फाइभको प्रतिस्पर्धामा मालदिभ्स माथि ५–० को जित निकालेको हो । सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले मालदिभ्सका फरुजन अहमद फलाह र हुसैन जुरी याल्भीको जोडीलाई २१–११, २१–६ ले, रिहाना शेरचनले अदिल मोहम्मद कियानलाई २१–९, २१–६ ले, सुविन श्रेष्ठले फरुजनलाई २१–७, २१–८, दिलाशा राना र रिहाना शेरचनको जोडीले अदिल मोहम्मद र हुसैन जुरीको जोडीलाई २१–८, २१–१० र सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीले फरुजन र अहमद मम्दु इयानलाई २१–३, २१–८ ले पराजित गर्नुभयो ।
यस्तै यू–१७ तर्फ कविर केसी र रोजी राईको जोडीले अजहर मोहम्मद आयुब र ऐस्था जोया हुसैनको जोडीलाई २१–१, २१–४, रोजी राईले ऐस्थालाई २१–१०, २१–८, कविर केसीले अजहरलाई २१–७, २१–१०, अन्जिल लिम्बु र रोजी राईको जोडीले ऐस्था र मोहम्मद शरिफ सैयवको जोडीलाई २०–२२, २१–१८, २१–१० र कविर केसी र अभय महराको जोडीले अजहर र युसुफ मुनाधी माथलुवको जोडीलाई २१–१५, २१–१५ ले हराउनुभयो ।
अन्य खेलमा बंगलादेशले यू–१५ तर्फ भुटानलाई ५–० र यू–१७ तर्फ मालदिभ्सलाई ५–० ले हरायो । श्रीलङ्काले यू–१५ तर्फ मालदिभ्सलाई ५–० ले हरायो ।
भदौ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मिक्स टिम इभेन्टस्मा महिला र पुरुषको एकल, महिला र पुरुषको युगला र मिक्स गरि पाँच स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ्गले उद्घाटन गर्नुभयो ।