• २ जेठ २०८२, शुक्रबार

सुन तस्करी सामान्य हेलचेक्र्याँइले भएको होइन : कानुनमन्त्री

blog

काठमाडौं, भदौ १ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताउनुभएको छ ।

शुक्रबार नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानुनमन्त्री गुरुङले सरकारले शीर्ष नेताहरुको सम्पत्ति छानबिन गर्ने बताउनुभएको हो । उहाँले सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरु सबैको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उल्लेख रहेको भन्नुहुँदै त्यसको कार्यान्वयन हुने बताउनुभयो ।

मन्त्री गुरुङले सरकार मुलुकलार्ई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिबद्ध रहेको जानकारी दिनुभयो । बजारमा नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणसँगै अहिले सुन काण्ड आएको भन्दै सरकारले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने बताउनुभयो । उहाँले भ्रष्टाचारको लिङ्ग, जात, धर्म हुँदैन भन्ने मान्यताका साथ सरकार अगाडि बढ्ने बताउनुभयो । 

‘‘मुलुकलाई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिबद्ध छौं । सरकारको मिसन सुशासन कायम गर्ने हो । यो मुलुकमा सुशासन स्थापना गर्न र भ्रष्टाचारमुक्त बनाउनका लागि टिप्पणी उठाउनेहरुको हातमा मात्रै हत्कडी लगाएर सुशासन स्थापना गर्न सकिँदैन भन्ने कुरामा हामी प्रष्ट हुनु आवश्यक छ ।,’’  मन्त्री गुरुङले भन्नुभयो, ‘‘जसले टिप्पणी उठाउँछ, तीनका हातहरुमा हत्कडी लगाउने र फेरि टिप्पणी उठाउन आदेश दिनेहरुलाई तिनै टिप्पणी उठाउनेहरुको हातमा हत्कडी लगाउनेहरुलाई हत्कडी लगाउने हातले फेरि आदेश दिनेहरुलार्ई सलाम ठोक्ने प्रवृत्तिको अन्त्य खोज्नुपर्छ । सरकारको नीति तथा कार्यक्रममा पनि प्रष्ट लेख्यौँ, उच्च तहका नेताहरु सबैको सम्पत्ती छानबिन गर्नुपर्छ भनेर त्यसै लेखेको होइन । देखाउनका लागि लेखेको होइन । यो कुनै हात्तीको दाँत होइन । यो कार्यान्वयन नै गर्ने हो । त्यसकारण उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ अब सरकार अघि बढ्छ ।’’   

उहाँले सुन तस्करीलाई सामान्य हेलचेक्र्याँइका रुपमा हेर्न नहुने बताउनुभयो । सामान्य हेलचेक्र्याँइले सुन तस्करी भएको हो भन्ने प्रतिवेदन बाहिर ल्याइएको भन्दै सुन तस्करी सामान्य व्यक्तिबाट हुनैनसक्ने जिकिर गर्नुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘‘आज मात्रै पढ्दै थिएँ मैले सुन तस्करी प्रकरण साधारण हेलचेक्र्याँइले गर्दा भएको हो रे । त्यति ठूलो पहेंलो हात्ती गेटबाट छिर्दाखेरी साधारण हेलचेक्र्याँइ हो भन्ने प्रतिवेदन आयो भन्ने पढ्दैथिएँ । तर त्यस्तो होइन । हामीले धेरै कुरा सुधार्नुपर्ने रहेछ ।’’

कानुनमन्त्री गुरुङले सरकारले कानुनको चाङ लगाएर मात्रै केही नहुने भन्दै सबै दोषी कानुनको कठघरामा उभिने बताउनुभयो ।