• ४ जेठ २०८१, शुक्रबार

भ्रष्टाचारमुक्त उपमहानगर बनाउनेतर्फ लागेको छु

blog

पूर्वमा महागढीमाई नगरपालिका, देवताल गाउँपालिका, उत्तरमा जितपुरसिमरा उपमहानगरपालिका, पश्चिममा फेटा र प्रसौनी गाउँपालिकाको बिचमा अवस्थित बारा जिल्लाको कलैया उपमहानगरपालिका दक्षिण भारत विहार राज्यसँगको सीमासम्म फैलिएको छ । घण्टाघर र भरत चोकले यस उपमहानगरपालिकाको पहिचान झल्काउने गरेको छ । उपमहानगरभित्र परापूर्वकालदेखि  बरेवादरबार रहेको थियो । दरबारको तीन भाग भासिन लाग्दा एक हिस्सालाई संरक्षण गरिएको छ भने बाँकी हिस्सालाई  बरेवादरबार होटल बनाइएको छ । यहाँ सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयसहितका पोखरी, बगैँचा र लङ्डा मठ पनि छ । २०७९ सालको स्थानीय तह चुनावमा नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका विनोदप्रसाद साह कलैया उपमहानगरपालिकाका प्रमुखमा निर्वाचित हुनुभएको थियो । उपमहानगरमा भएका विकास निर्माणलगायतका विविध विषयमा प्रमुख साहसँग गोरखापत्रका बारा समाचारदाता शिवशङ्कर मिश्रले गर्नुभएको कुराकानीको सारांश यहाँ प्रस्तुत गरिएको छ :

निर्वाचित भएको एक वर्षभन्दा बढी भयो, के कस्ता विकासका काम गर्नुभएको छ ?

कलैया उपमहानगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने पहिलो दायित्वका साथ म अगाडि बढेको छु । जिल्लाको पहिलो स्थानमा कलैया र दोस्रो स्थानमा जितपुरसिमरा उपमहानगरपालिका भ्रष्टाचारले जेलिएको नगरपालिकाका रूपमा परिचित थियो । भ्रष्टाचारमुक्त बनाउनेतर्फ अगाडि बढेको छु । पहिलादेखि खस्किएको शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुधार्न करिब पौने आठ करोड रुपियाँ लगानी गरे पनि अपेक्षाकृत सुधार हुन सकेन । यस वर्ष पनि अन्य बजेटबाट कटौती गरी शिक्षा र स्वास्थ्यमा लगानी गर्ने छु । 

यसै गरी मानमत मटिअर्वा सडकखण्ड अन्तर्गत मुआब्जा लिए पनि घर तोड्न बाँकी रहेका तथा सडक निर्माणमा अवरुद्ध गर्नेहरूको घर, टहरा हटाउने कार्यमा लागिपरेको छु । वर्षाको मौसम सकिनासाथ सडक निर्माणको कार्य सुरु हुन्छ । यसै वर्षभित्र अधुरो रहेका मानमत–मटिअर्वा सडक निर्माणको काम पूरा हुनेमा विश्वस्त छु । कलैया बजार क्षेत्रलाई फराकिलो बनाएर सुव्यवस्थित र राम्रो बजार निर्माण गरेको छु । 

उपमहानगरको मुख्य आवश्यकता, समस्या र चुनौती के देख्नुहुन्छ?

आवश्यकता, समस्या र चुनौती कुनै खासै छैन । मुख्य चुनौती भनेको रकम नै हो । जुन ठाउँको नेताको पहुँच माथिसम्म छ, त्यसले लाखौँ र करोडौँ बजेटसहितको बजेट पाइराखेका छन् । मेरो कुनै नातागोता वा पार्टीको सरकार नभएकाले पाउनुपर्ने रकममा पनि कटौती हुने गरेको छ । विकास निर्माणमा कुनै किसिमको गलत कार्य गर्न कसैलाई छुट नदिने र आउने दिनमा पनि विकासप्रति नकारात्मक सोच, विचार र बार्गेनिङसहितको कुनै सम्झौता नगर्नेमा दृढतासाथ अगाडि बढिरहेको छु । 

आन्तरिक स्रोतसाधनलाई कसरी परिचालन गर्नुभएको छ ?

कलैयामा आन्तरिक स्रोतसाधन पहिलादेखि १५ करोड देखाएको छ । त्यति स्रोत रहेको छैन । वास्तवमा साढे चारदेखि पाँच करोड मात्र रहेको छ । आन्तरिक स्रोतबाट नै नगर प्रहरी, सचिवलगायत कर्मचारीको तलब दिने गरेका छौँ । स्विपरको तलबमा मात्र दुई करोड रुपियाँ जाने गरेको छ । सुरुमा आन्तरिक स्रोतमा ध्यान नदिँदा केही समस्या आएको थियो । यस वर्ष भने ११ करोड आन्तरिक स्रोत बढाउने लक्ष्य लिएको छु । अहिले यहाँका व्यापारीलाई कडाइ गरेपछि सूचिकृत गर्न थालेका छन् । यसले आन्तरिक स्रोतको रकम बढ्ने आशामा छु ।

आगामी विकास कामलाई अगाडि बढाउन के कस्तो, लक्ष्य र योजना बनाउनुभएको छ ? 

यस उपमहानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने कुरा पहिले नै भनिसकेको छु । यसवर्ष उपमहानगरपालिकाविरुद्ध कसैले अख्तियारमा उजुरी गरेका छैनन् । कुनै राजनीतिक दलले रिसइबी साध्न उजुरी दिएको हुन सक्छ तर हालसम्म अख्तियारबाट कुनै प्रकारको पत्र प्राप्त भएको छैन, जसले मेरो मनोबल उच्च भएको छ । मैले गरेको वचन पहिलो वर्षमा नै पूरा भएको छ । मैले लिएको लक्ष्य अनुसार कलैयामा चारतल्ले कभर्ड हल निर्माण, कलैया बजारको सबै सडक पक्की, ढलान गर्ने लक्ष्यसहितको योजना बनाएको छु ।

सङ्घ र प्रदेशसँगको समन्वय तथा सहकार्य कस्तो छ ?

केन्द्रीय सरकार र प्रदेश सरकारबाट पाउनुपर्ने सेवा सुविधा पाउन सकेको अवस्था छैन । प्रदेश सभा सदस्यको बजेट पालिकाको समन्वय बिना खर्च भइरहेको छ । प्रदेशबाट पाउने बजेटलाई पालिकासँग समन्वय गरी कार्यक्रम सम्पन्न गर्न नियमावली बनाउन जरुरी छ । स्थानीय पालिकासँग समन्वय गरी प्रदेश सभा सदस्यको बजेट, कहाँ र कसरी खर्च गर्ने भन्ने नियमावली बनाउन मुख्यमन्त्रीसँग अनुरोध गरेको छु । कमिसनबिनाको काम कतैबाट भइरहेको छैन । वास्तवमा उपमहानगरपालिका लायक नै कलैया छैन, नगरपालिका लायक छ । कलैयामा स्टेडियम छैन, कभर्ड हल, पार्क, कुनै ऐतिहासिक ठाउँ र खेल मैदान छैन । खेलाडीलाई खेल्न उचित ठाउँ नरहेकाले उनीहरूका लागि ठाउँको आवश्यकता छ । जनभावना अनुसार विकास हुन सकेन्, पहँुच भएको व्यक्ति÷पालिकालाई मात्र केन्द्रले बजेट दिने गरेका छन् । स्टेडियम र कभर्ड हल बनाउनका लागि तथा अन्य विकासका लागि मुख्यमन्त्री सरोजकुमार यादवले थप बजेट दिने वचन दिनुभएको छ । 

चुनावमा गरेका वाचा कति पूरा गर्नुभएको छ ?

चुनावमा गरेको वाचा, शतप्रतिशत पूरा गर्ने कार्यमा लागेको छु । यहाँको समस्या भनेको वेरोजगारी र नोकरी रहेको छ । मेरो कक्षमा दैनिक २० जनाभन्दा बढी जागिर माग्न आउँछन् । कलैयामा ८० हजार मतदाता सङ्ख्या छ । निर्वाचनताका कुल मतदाताको ३० प्रतिशतलाई जागिर दिने गरिएको वाचा पूरा गर्न मुख्य जिम्मेवारी काँधमा थपिएको छ । सोही कुरालाई लिएर स्थानीयवासीले चुनावमा गरेको वाचा पूरा नगरेको आरोप लगाउँदै आएका छन् तर जागिरको सट्टा उचित सिप आवश्यकता रहेकाले यस वर्षदेखि उचित तालिम र सिप दिने लक्ष्य बनाएर कार्यक्रम निर्धारण गरेको छु ।